पूर्वी नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु र १० जना घाइते

–

नवलपरासी। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेमा शनिबार बिहान भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको यात्रुवाहक बस बिहान करिब पौने ४ बजे अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको हो।

दुम्किवास प्रहरीका अनुसार दाउन्नेको ओरालोमा गुडिरहेको बसको ब्रेक फेल भएका कारण उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

बस दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा जाजरकोटको भेरीगंगा नगरपालिका ३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका ३ का ३२ वर्षीय दिपेन्द्र केसी र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी रहेका छन्।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका १० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका ७ का २२ वर्षीय कृष कनौजियाको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका अन्य १ जना पुरुषको भने हालसम्म पहिचान खुल्न बाँकी रहेको र पहिचान खुलाउने प्रयास भइरहेको छ। बसमा चालकसहित जम्मा १८ जना सवार थिए।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो।

घाइते १० जनालाई उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ, जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। बसमा सवार २ जना यात्रु भने सकुशल रहेका छन्।

सुरक्षा निकायले क्रेनको प्रयोग गरी सडकमा पल्टिएको बसलाई हटाइसकेको र यातायात सञ्चालनमा ल्याएको छ।





Comments

comments

141196