एचकेनेपाल डट कम –
लन्डन — बेलायती सेनाका प्रमुख (चिफ अफ द जनरल स्टाफ) जनरल सर रोली वाकरले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक राज सिग्देललाई बेलायती सेनाको एन्डोभरस्थित मुख्यालयमा औपचारिक रूपमा स्वागत गर्नुभएको छ।
यो भेटवार्ताले बेलायत र नेपालबीचको साझा इतिहास, पारस्परिक सम्मान तथा बेलायती र नेपाली सेनाबीचको निरन्तर सहयोगमा आधारित घनिष्ठ एवं पुरानो रक्षा साझेदारीलाई झल्काएको छ।
यस अवसरमा जनरल वाकरले बेलायती सेनामा गोर्खा सैनिकहरूले खेलेको महत्वपूर्ण भूमिकाप्रति गहिरो प्रशंसासमेत व्यक्त गर्नुभएको छ।
यसअघि अक्टोबर ६ मा, प्रधानसेनापति जनरल अशोक राज सिग्देलले बेलायती रक्षा मन्त्रालयमा लेफ्टिनेन्ट जनरल सर चार्ली कोलिन्स र लेफ्टिनेन्ट जनरल पल ग्रिफिथसँग भेटवार्ता गर्नुभएको थियो।
सो भेटमा उहाँहरूले सैन्य शिक्षा र व्यावसायिक विकासलगायत दुई देशबीचको लामो समयदेखिको सैन्य साझेदारीबारे छलफल गर्नुभएको थियो। दुवै सेनाले तालिम, आदानप्रदान र सहयोगका अन्य माध्यमबाट बेलायती र नेपाली सेनाका कर्मचारीहरूलाई लाभ पुग्ने किसिमले विशेषज्ञता प्रदान गर्दै आएका छन्।
भेटका क्रममा नेपालको नुवाकोट जिल्लामा बाढी प्रभावित समुदायहरूलाई दीर्घकालीन आवतजावतको सुविधा पुर्याउन त्रिशूली नदीमा बन्ने झोलुङ्गे पुलको निर्माणबारे समेत छलफल भएको थियो।
ऐतिहासिक उपहार आदानप्रदान
बेलायत भ्रमणका क्रममा प्रधानसेनापति जनरल अशोक राज सिग्देलले बेलायती सेना प्रमुखलाई आधुनिक नेपालका संस्थापक राजा पृथ्वीनारायण शाह (सन् १७२३–१७७५) को तरबारको मिनिएचर (प्रतिकृति) उपहारस्वरूप प्रदान गर्नुभएको छ।
उक्त उपहारमा कुँदिएको विवरणअनुसार, एकता, साहस, दूरदर्शिता र नेतृत्वको प्रतीक मानिने यो ऐतिहासिक तरबारले अपार ऐतिहासिक सम्मान बोकेको छ र यसलाई घनिष्ठ मित्रताको चिनोको रूपमा प्रस्तुत गरिएको छ।
सो अवसरमा बेलायती सेना प्रमुखले पनि उहाँलाई विभिन्न प्रतीकात्मक उपहारहरू प्रदान गर्नुभएको थियो।
– भूमिराज राई
फोटो – ‘यूके इन नेपाल’ फेसबुक पेज


