कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा बुधबार बिहान परेको असिनासहितको भारी वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ।
धान काटेर भित्र्याउने तयारी भइरहेका बेला आएको असिनापानीले काटिसकेको धानसँगै खेतमा रहेको धानमा क्षति पुर्याएपछि किसान चिन्तित भएका छन्।
बुधबार बिहानैदेखि परेको भारी वर्षासँगै आएको असिनाले धानका बाला झार्नुका साथै हावाहुरीले खेतमा रहेको धान ढलाएको छ । कतिपय स्थानमा काटेर खेतमा सुकाइएको धानपानीले भिजेको छ भने केही ठाउँमा वर्षाको पानीले धान डुबाउनुका साथै बगाएको छ। घोडाघोडी नगरपालिका–१०, घुम्नीभालका किसान रामभरोसा चौधरीले काटेर खेतमा सुकाएको धान वर्षाका कारण भिजेपछि समस्या भएको बताए।
“धान काटेर खेतमा सुकाएका थियौँ । असिनासहित पानी परेपछि सबै भिजायो। काटेको धानमात्रै होइन, खेतमै रहेको धानका बालासमेत असिनाले झारेको छ । अब धान कसरी जोगाउने भन्ने चिन्ता भएको छ,” उनले भने।
घोडाघोडी नगरपालिका–५ की किसान निशा चौधरीको खेतमा पनि काटेर राखिएको धान वर्षाको पानीले डुबाएको छ । वर्षभरि खानका लागि उत्पादन गरेको धानमै क्षति पुगेपछि उहाँलाई आगामी दिनमा खाद्यान्नको समेत चिन्ता बढेको छ।
“वर्षभरि खाने धान यही हो । काटेर राखेको धानपानीले डुबायो । अब धान नै बिग्रियो भने के खाने भन्ने चिन्ता भएको छ,” उनले भने। घोडाघोडी–५ कै किसान मनोज चौधरीको काटेर राखिएको धानसमेत पानीमा डुब्नुका साथै केही बगाएको छ । खेतमा पानी भरिएपछि काटेर राखेको धान जोगाउन समस्या भएको उनले बताए।
यस्तै, घोडाघोडी–८ का किसान रामु बुढाथोकीले धान काटेर भित्र्याउने तयारी गरिरहेका बेला आएको वर्षाले समस्या थपिएको बताए। “धान पाकिसकेको थियो, केही दिनमै काटेर घर लैजाने तयारी थियो । काटेको धान पनि भिजेको छ। मौसम अझै यस्तै भयो भने ठुलो क्षति हुने डर छ,” उनले भने।
असिनासहितको वर्षा र हावाहुरीले घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा विद्युत् संरचनामा समेत क्षति पुर्याएको छ । हावाहुरीका कारण विद्युत्का तार टुट्नुका साथै कतिपय स्थानमा पोलमा समेत क्षति पुगेको पहलमानपुर सबस्टेसनका प्रमुख लोकविक्रम मल्लले बताए । उनका अनुसार हावाहुरीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गरी मर्मत गरेर विद्युत् सेवा सञ्चालन गर्ने काम भइरहेको उनले बताए।
हावाहुरीका कारण घोडाघोडीका विभिन्न स्थानमा रुख तथा हाँगाबिँगा ढलेका थिए । रुख सडकमा ढलेपछि पूर्व–पश्चिम राजमार्गसँगै भित्रि सडकसमेत केही समय अवरुद्ध भएको थियो। सडकमा ढलेका रुख हटाएर राजमार्ग सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताए।
असिना, वर्षा र हावाहुरीबाट घोडाघोडी नगरपालिकाका विभिन्न वडामा भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावते बताए। उनका अनुसार सबैभन्दा धेरै धानबालीमा क्षति भएको छ भने केही घरहरूमा रुख ढलेर क्षति पुगेको छ । ढलेका रुखहरू पन्छ्याउने काम भइरहेको नगर प्रमुख रावतले बताए। रासस


