वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन

–

एचकेनेपाल डट कम –
काठमाडौँ । बलिउड तथा मराठी चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

बिहीबार बिहान गोवाको डोना पाउलास्थित आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल नजिकैको मणिपाल अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। अस्पतालका अनुसार उनको निधनको कारण गम्भीर हृदयाघात (कार्डियाक अरेस्ट) हो।

चिकित्सकहरूले उनलाई बचाउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिए पनि कुनै सफलता मिलेन।

सन् १९७८ मा चलचित्र गमनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका पाटेकरले चार दशकभन्दा लामो फिल्मी करियरमा अमिट छाप छोडेका छन्। उनले आफ्नो शक्तिशाली अभिनय र विशिष्ट संवाद शैलीका कारण तीन पटक प्रतिष्ठित नेसनल फिल्म अवार्ड र सन् २०१३ मा भारतको चौथो उच्च नागरिक सम्मान पद्मश्री प्राप्त गरेका थिए।

परिन्दा, क्रान्तिवीर, अङ्गार, अपहरण, अब तक छप्पन र वेलकम जस्ता थुप्रै व्यावसायिक तथा कलात्मक चलचित्रहरूमा उनले निभाएको भूमिका सदैव स्मरणीय रहनेछन्।

नाना पाटेकर केवल पर्दामा मात्र नभई वास्तविक जीवनमा पनि आफ्नो सादगी र समाजसेवाका लागि निकै आदरणीय व्यक्तित्व थिए।

उनले महाराष्ट्रका खडेरीपीडित किसानहरूको मद्दतका लागि नाम फाउन्डेसन स्थापना गरेर ठूलो सामाजिक योगदान पुर्‍याएका थिए। यसका साथै, सन् १९९९ को कारगिल युद्धका बेला उनले भारतीय सेनाको हौसला बढाउन सीमा क्षेत्रमा पुगेर समय समेत बिताएका थिए।

उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि गोवा मेडिकल कलेज पठाइएको छ। पाटेकरको अचानक भएको यस दुःखद निधनको खबरले चलचित्र जगत्, राजनीतिज्ञ तथा विश्वभर रहेकाका उनका लाखौँ प्रशंसकहरू स्तब्ध भएका छन् र सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन्।





Comments

comments

141332