मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द

सन्दर्भ तस्बिर

काठमाडाैँ। मलेसियाको जोहोर राज्यमा वायु प्रदूषण बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ।

पछिल्ला दिनमा राज्यका विभिन्न क्षेत्रमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि सावधानीस्वरूप विद्यालय बन्द गरिएको बताए।

विद्यालय बन्द हुँदा जोहोर राज्यका सबै एक हजार १९८ विद्यालय प्रभावित भएका छन्। यसबाट छ लाख १७ हजार २५८ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ।

जोहोरमा पछिल्ला दिनमा वायु प्रदूषण सूचकाङ्क (एपीआई) को स्तर उच्च देखिएको छ। बिहीबार बिहान १० बजे सेगमट क्षेत्रमा एपीआई १८७ पुगेको थियो। यो अस्वास्थ्यकर वायु गुणस्तरको स्तर हो।

राजधानी क्वालालम्पुरसहित मलेसियाका ३८ क्षेत्रमा पनि अस्वास्थ्यकर एपीआई स्तर रेकर्ड गरिएको छ। बढ्दो धुवाँ र प्रदूषणका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोहोरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन्। रासस





Comments

comments

141344