गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ।
विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए।
विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।
सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।


