धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता

–

सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढी रहेको पाइएको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म लागूऔषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन्।

प्रहरीको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्। सो अवधिमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका थिए । यसबाट पनि लागू औषधको प्रयोग र कारोबारको मात्रामा वृद्धि भएको अनुमान गर्न सकिन्छ।

इलाका प्रहरी कार्यालयका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए । त्यसैगरी, गत आर्थिक वर्ष २०८२/८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म विभिन्न कसुरका १६१ मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा १०३ पुरुष र आठ महिला गरी १११ जना पक्राउ परेको प्रमुख राईले बताए ।

यस्तै, अभद्र व्यवहार, बैङ्किङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबरजस्ती करणीलगायतका विभिन्न कसुरमा मुद्दा दर्ता भएका छन्।

प्रमुख राईका अनुसार लागू औषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ । उमेरका आधारमा १५ देखि ५५ वर्ष समूहका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ।

लागूऔषध कारोबारीले सवारीसाधनमा लुकाएर, फल्स बटम बनाएर तथा शरीरका विभिन्न भागमा लुकाई छिपाई लागूऔषध ओसारपसार र बिक्री वितरण गर्ने गरेको पाइएको उनले जानकारी दिए। रासस





Comments

comments

141489