दसैँको टीका : कतै रौनक, कतै सुनसान

–

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन। घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ। धेरैका लागि दसैँ उमङ्ग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोल टोलमा दसैँका गीत गुन्जिरहेका छन्।

“आउँथ्यो दसैँ आउन त पहिला नि,
यस्तो मज्जा भा’थे’न कहिल्यै नि…”

गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको यो गीतमा ‘लिपसिङ’ मिलाउँदै टिकटकमा रमाउनेहरू पनि कम छैनन् । तर ठीक यसको उल्टो, ‘यस्तो नमज्जा कहिल्यै भएको थिएन’ भन्ने अवस्था यसपाली भोटेकोशी बाढीपीडितले भोग्नुपर्‍यो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घरबार गुमाएका र आफन्त गुमाउनेहरूका लागि यस वर्षको दसैँजस्तो पीडादायी दसैँ सायद पहिला कहिल्यै भएन होला।

आज दशैको टिका, कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन् । कतै आफन्तको हातबाट टिका जमरा लगाउँदै आशीर्वाद लिन भ्याईनभ्याई छ होला । तर कतिको आशीर्वाद दिने आफन्त नै बाढीले बगायो । बाढीका कारण बेपत्ता हुने आफन्तको कहिकतैबाट फर्कि पो आउने हुन् कि भन्ने प्रतिक्षा गर्न पनि छाडेको छैन मन । कतै घरमा दसैँको रौनक छ, कसैको घर नै छैन । कतै गाउँमा रमझम बढिरहेको बेलामा कतै गाउँ नै बगर बनेको छ।

विनाशकारी बाढीले घरबार र सम्पत्ति मात्र बगाएन । त्योभन्दा पिडादायी परिवारका सदस्य र आफन्त गुम्दा भयो । बाढी गएदेखि नै कयौँ प्रभावित परिवारलाई पीडा बिर्सन मुस्किल भएको छ । वर्षदिनमा एकपटक आउने दसैँले समेत उनीहरूको मनमा खुसी फर्काउन सकेन।

नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपाललाई यस वर्षको दसैँले विगतका वर्षभन्दा बढी पीडा दिएको छ । बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसिएका छन् । यस्तो अवस्थामा टीका लगाउने र उत्सव मनाउने कुरा उनीहरूका लागि निकै परको विषय बनेको छ।

“यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन् । दसैँमा टीका लगाउने त कुरै भएन,” उहाँ भन्छन्, “टीका लगाउन मिल्नेहरूलाई पनि खुसी छैन । सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दसैँ आएछ भन्ने थाहा हुन्छ । यहाँ त केही छैन । दसैँ आएको हो कि होइन भन्ने पत्तै हुँदैन।”

दसैँमा घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने चाहना सबैको हुन्छ । तर, घर नै नरहेपछि र आफ्ना मान्छे नै गुमाएपछि पर्वको अर्थसमेत फेरिएको महसुस भएको छ वडाअध्यक्ष नेपाललाई । अरूका घरमा टीका र जमराको रौनक देख्दा आफ्नै विगत सम्झिएर मन भक्कानिएको छ उनको।

विदुर नगरपालिकाकै वडा नं ११ मा बाढीको प्रत्यक्ष प्रभाव खासै परेन । तर, छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले त्यहाँका स्थानीयको मन पनि दुखाएको छ। आफ्नो घर सुरक्षित रहेपनि छिमेकीको घर उजाडिएको र आफन्त गुमाएको दृश्यले दसैँको उत्साह घटाएको वडाध्यक्ष बाबुराम तामाङ बताउँछन्।

“गत वर्ष पिङ खेल्ने, बाजा बजाउने, नाचगान गर्ने, आफन्त भेट्ने, मिठा खाने र राम्रा लुगा लगाउने गरिन्थ्यो । दसैँको रौनक नै अर्कै हुन्थ्यो,” उनी भन्छन्, “यस वर्ष त छिमेकीलाई परेको पीडा देखेर हाम्रोमा पनि दसैँको उत्साह छैन ।”

दसैँ आफन्तसँगको भेटघाट र आपसी सद्भावको पर्व हो । त्यसैले आफ्नो छिमेकीको आँसु देखेर रमाउन सकिँदैन । यस वर्ष विदुर–११ का बासिन्दाले पनि त्यही अनुभूति गरिरहेका छन्। बाढीले प्रत्यक्ष क्षति नपुर्‍याएको बस्तीमा समेत दसैँको उल्लास पहिले झैँ फर्किन सकेको छैन।

रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका छ दशक पार गरिसक्दा पनि अहिलेको जस्तो पीडादायी दसैँ कहिल्यै अनुभव गर्नुभएको थिएन । बाढीले आफन्त र गाउँले गुम्यो । उहाँको सम्पत्ति बगायो । गाउँले र आफन्तसँगको पुरानो सामीप्य पनि बाढीसँगै हराएको छ।

“आफ्नो सम्पत्ति सबै बगायो । आफन्त छैनन्, गाउँले छैनन् । दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,” उनी भन्छन्, “ओहो, आज टीका पो रहेछ भन्ने लाग्छ । दसैँ आएको हो कि गएको हो, त्यसको महत्त्व नै छैन।”

विगतका वर्षमा दसैँ नजिकिँदै गर्दा घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने, आफन्तलाई बोलाउने र टीकाको तयारी गर्ने चटारो हुन्थ्यो । यस वर्ष भने लामिछानेका लागि ती सबै सम्झनामा सीमित भयो । उनलाई आफ्नो ठाउँमा फेरि पहिलेजस्तै रमझमसहित दसैँ फर्किएला कि नफर्किएला भन्ने चिन्ताले पनि सताएको छ।

उत्तरगया गाउँपालिका कै अर्का स्थानीय सपना तामाङलाई पनि यस पटक दसैँ आएको अनुभूतिसमेत हुन सकेको छैन । विगतमा खुसी र उल्लास बोकेर घरभित्रिने दसैँ यस वर्ष पीडा र बिछोडका सम्झना लिएर आएको उहाँको अनुभव छ । चाडपर्वले विगतका सुखद क्षण सम्झाउँछन्, तर त्यही सम्झनाले प्रियजन गुमाएकाहरूको घाउ थप बल्झाउँछ।

बाढीको प्रत्यक्ष मारमा परेका परिवारको पीडा आफ्नै ठाउँमा छ। तर, घर सुरक्षित रहेकाहरूका लागि पनि यस वर्षको दसैँ सहज छैन । कुनै समय सँगै चाडपर्व मनाएका छिमेकी नहुँदा गाउँबस्ती नै सुनसान बनेको छ । एकै ठाउँमा हुर्किएका, दुःखसुख साटेका र वर्षौंदेखि दसैँमा भेटघाट गर्दै आएका मानिसहरू नहुँदा चाडको रौनक हराएको छ।

गोरखाको पालुङटार नगरपालिका–५ मा पनि यस वर्ष विगतका दसैँमा जस्तो चहलपहल छैन । घरआँगनमा आफन्त भेला हुने र गाउँमा चाडपर्वको उल्लास छाउने क्रम कमजोर बनेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँलेहरू अझै शोकबाट बाहिर निस्कन सकेका छैनन्।

रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा छ जना मात्रै सकुशल रहेका थिए । एउटै घटनामा ठुलो सङ्ख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा पालुङटार–५ का बासिन्दाका लागि अझै ताजा छ।

यस वर्ष गाउँमा दसैँको टीका थाप्ने, जमरा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल नभएको बताउँछन् सोही वडाका वडाध्यक्ष दीपक पाण्डे । “यस पटक पहिलाको जस्तो दसैँको टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाटको चहलपहल नै छैन,” उनी भन्छन।

दसैँमा गाउँ फर्किनेहरूका लागि घर मात्र गन्तव्य हुँदैन, त्यहाँ भेटिने आफन्त, छिमेकी र साथीभाइ पनि उत्तिकै प्रिय हुन्छन् । तर, यस पटक पालुङटारका धेरै बासिन्दाका लागि घरमै बसेर पनि आफ्ना मान्छे भेट्न पाउने अवस्था छैन । सँगै दसैँ मनाउनेहरू नै नरहेपछि चाडपर्वको खुसी नै छैन।

दसैँको टीका निधारमा लगाइने रङ मात्रै नभएर आफन्तबीचको सम्बन्ध, माया र आशिर्वादको प्रतीक पनि हो । त्यसैले प्रियजन गुमाएका परिवारका लागि टीका र जमराभन्दा उनीहरूसँग बिताएका पुराना क्षणको सम्झना बढी गहिरो बनेको छ।

एकातिर देशभर दसैँको रौनक छ । सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन् । अर्कातिर, बाढी प्रभावित बस्तीका धेरै घरमा शोकको सन्नाटा छ । उनीहरूका लागि यस पटक दसैँ आएको छ, तर दसैँको खुसी आएको छैन । यस वर्षको दसैँले यही फरक फरक अनुभूति उजागर गरेको छ( कतै रौनक छ, कतै सुनसान। रासस





Comments

comments

141670