एचकेनेपाल डट कम –
हङकङ। साउदी अरबको पूर्वी प्रान्तस्थित साउदी अरामकोको सायबाह तेल खानी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।
साउदी हवाई प्रतिरक्षा प्रणालीले तेल प्रशोधन केन्द्रलाई लक्षित गरेर आएको ड्रोनलाई बीचमै रोके पनि त्यसको भग्नावशेष खस्दा उक्त दुर्घटना भएको साउदी अधिकारीहरूले जनाएका छन्।
प्राप्त विवरण अनुसार ड्रोनको भग्नावशेष खसेपछि तेल क्षेत्रमा कार्यरत ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। सोही आगलागीका कारण त्यहाँ कार्यरत एक नेपाली र अर्का एक श्रमिकको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। प्रारम्भिक रिपोर्टहरूका अनुसार यो आक्रमण यमनका हुथी विद्रोहीहरूद्वारा गरिएको दाबी गरिएको छ।
यसैबीच नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले यस दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्दोष नागरिकलाई लक्षित गरी गरिने यस्ता हिंसात्मक कार्यको भर्त्सना गरेको छ।
हालसम्म मृतक नेपाली श्रमिकको नाम र विस्तृत विवरण साउदी अधिकारीहरूले सार्वजनिक नगरेकाले दूतावासमार्फत थप पहिचान खुलाउने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


