२६औँ आहा रारा पोखरा गोल्डकपको मिति घोषणा: माघ ५ देखि १६ गतेसम्म हुने

फाइल तस्बिर: सुदर्शन रञ्जित

एचकेनेपाल डट कम –
पोखरा। नेपाली फुटबलको प्रतिष्ठित र ऐतिहासिक प्रतियोगिता ‘आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’को २६औँ संस्करण आगामी २०८३ साल माघ ५ गतेदेखि १६ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ।

खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने मूल उद्घोषका साथ २६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताको आयोजक सहारा क्लब पोखरा रहेको छ।

पोखराको फुटबल विकास, समग्र खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको हो। यसले प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नसमेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

विगत झैँ यस वर्ष पनि प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूले सहकार्य र सहयोग गरेका छन्। यस प्रतियोगिताको मुख्य प्रायोजक हिम श्री फुड्स प्रा. लि. को उत्पादन आहा रारा तयारी चाउचाउ रहेको छ भने संरक्षकमा पोखरा महानगरपालिका रहेको छ। यसैगरी राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघले यसलाई सहयोग गरेका छन्।

व्यावसायिक साझेदारका रूपमा लुम्विनी विकास बैंक, नमस्ते एजुकेशन कन्सल्टेन्सी र बुद्द एयर जोडिएका छन्। अन्तर्राष्ट्रिय स्तरबाट सहारा (युके, हङकङ, अष्ट्रेलिया) सहित समाजसेवी, लोक दोहोरी गायक तथा कानुन व्यवसायी देव गुरुङ (हङकङ) को पनि यसमा सहयोग रहेको छ। साथै सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी पुरस्कारको प्रायोजन मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्नुभएको छ।

सहारा क्लब पोखराका अनुसार प्रतियोगितामा सहभागी हुने टिमहरू, विस्तृत खेल तालिका, पुरस्कार राशि, अन्य सह-प्रायोजकहरू तथा आवश्यक विवरणहरू उपयुक्त समयमा सार्वजनिक गरिनेछ। प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न क्लबले आवश्यक तयारी अघि बढाएको छ।

नेपाली फुटबलको विकास र पोखराको गौरवका लागि हाम्रो साझा अभियान—२६औँ आहा रारा पोखरा गोल्डकप–२०८३ लाई सफल बनाउन विगतमा सहयोग पुर्‍याउनुहुने मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी, दर्शक तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति सहारा क्लब पोखरा हार्दिक आभार व्यक्त गर्दछ। आगामी संस्करणलाई पनि थप उत्कृष्ट बनाउन सबैको निरन्तर सहयोग, सद्भाव र सहभागिताका लागि क्लबले हार्दिक अनुरोध गरेको छ। थप जानकारी वा सम्पर्कका लागि आयोजकको मोबाइल नम्बर ९८५६०७२५६२ उपलब्ध गराइएको छ।





Comments

comments

141716