दाङ। दाङमा फुलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ। अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फुलखेतीप्रति आकर्षित भएका हुन्।
यति बेला दाङका विभिन्न फुलखेती गरेका स्थानमा सयपत्रि फुल ढकमक्क फुलिसकेका छन्। गढवा गाउँपालिका–३, खैरेनीका टेकेन्द्रराज रावतले विगत चार वर्षदेखि व्यावसायिक फुलखेती गर्दै आएका छन्।
आइएससी कृषि सङ्कायअन्तर्गत वनस्पति विज्ञान अध्ययन गरेका उनले व्यावसायिक रूपमा फुलको खेती गर्दै आएका हुन्। उनले चाडपर्वलाई ध्यानमा राखी सयपत्री फुलको व्यावसायिक खेती थालेका हुन्। अहिले उनको फुलखेती १० कठ्ठा जग्गामा फैलिएको छ।
“पहिलो वर्ष परीक्षणका रूपमा खेती गरेँ । त्यसले राम्रो नतिजा दियो, त्यसपछि नियमित रूपमा खेती गर्दै आएको छु”, उनले भने, “यो वर्ष तिहार अगाडि रु २०/२५ हजारको फुल र माला बिक्री गरिसकेको छु।”
यो व्यावसायबाट राम्रो आम्दानी पनि हुँदै गएको उनले बताए। चाडपर्वका बेला छिमेकी देश भारतबाट फुल नेपाल आयात हुने गर्छ । त्यसलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको माग छ । “धान, गहुँ लगाउनुभन्दा फुलखेती सजिलो, मल र बीउमा धेरै खर्च नहुने रहेछ । लगानीअनुसार धान, गहुँले मूल्य पाउँदैन, फुलले राम्रो मूल्य पाउँछ”, उनले अनुभव सुनाए।
उनी वार्षिक रूपमा रु दुई देखि तीन लाखसम्म बचत गर्न सफल भएका छन्। अहिले फुललाई रु २५० देखि ३०० सम्ममा र एउटा मालालाई रु ४०० का दरले बिक्री गर्दै आएको बताउँछन्।
किसान रावतले अरुको देशमा गएर दुःख गर्नु भन्दा आफ्नै देशमा केही गर्न आवश्यक रहेको बताउँछन्। “गत वर्ष राम्रो आम्दानी भयो फुलखेतीबाट, यसवर्ष पनि तिहार आउनुभन्दा अघि बाटनै फुल माला बिक्री गर्दै आएको छु”,उनले भने।
फुलमा आत्मनिर्भर हुने गरी पुष्प कृषक प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताए। उनले सयपत्री फुलखेतीसँगै विभिन्न तरकारीखेती र तरकारीका बेर्ना पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन्। दाङ जिल्लामा व्यावसायिक फुलखेती गर्ने किसानको सङ्ख्या पछिल्ला वर्षमा बढ्दै गएको छ ।
जिल्लाका १० वटै स्थानीय तहमा फुलखेती गर्ने किसान रहेका छन् । प्रोत्साहनका लागि स्थानीय सरकारले भूमिका बढाउनुपर्ने देखिन्छ। रासस


