गुल्मीमा सराय नाचको रौनक

सन्दर्भ तस्बिर

गुल्मी । गुल्मीमा सराय नाचको रौनक बढेको छ । जिल्लाका विभिन्न कोतघर, मन्दिर तथा ऐतिहासिक स्थलमा नाचको रौनक बढेको हो।

बडादसैँको एकादशीदेखि सुरु हुने सो नाच जिल्लामा कोजाग्रत पूर्णिमासम्म विभिन्न स्थानमा प्रदर्शन गर्ने परम्परा छ । धार्मिक आस्था, ऐतिहासिक विरासत र मौलिक संस्कृतिसँग जोडिएको सराय नाच गुल्मीको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा रहेको छ।

जिल्लाका ऐतिहासिक कोत, शक्तिपीठ तथा धार्मिकस्थलमा खुकुरी, तरबार, खुँडा, भाला र खड्गलगायत परम्परागत हतियारसहित बाजागाजाको तालमा सराय नाच प्रदर्शन गरिन्छ।दसैँको समयमा देवीको पूजा आराधनापछि खेलिने यस नाचमा सहभागीले हातमा हतियार लिएर युद्धकलाको झल्को दिने गरी नाच्ने गर्छन्। गुल्मीको ऐतिहासिकस्थल मुसिकोटको जोगीथुममा कोजाग्रत पूर्णिमाको अवशरमा परम्परागत शैलीमा सराय नाच प्रदर्शन गरिएको छ।

धुर्कोट गाउँपालिकास्थित ऐतिहासिक धुर्कोट दरबारकोट, इस्मा गाउँपालिकाको ताल्तुङ, मालिकाको अर्जै, छाप र घमिर, रेसुङ्गा नगरपालिकाको जोगिथुम, धागिथुम तथा छत्रकोट गाउँपालिकाको चोयगाँलगायत स्थानमा सराय नाचको विशेष महत्व छ । यसका अतिरिक्त सत्यवती, कालीगण्डकी, गुल्मीदरबार, चन्द्रकोट, मदानेलगायत विभिन्न मन्दिर तथा ऐतिहासिक स्थलमा आआफ्नै मौलिक संस्कृति र परम्पराअनुसार सराय नाच नाच्ने प्रचलन छ।

घाँटीमा जमराको माला, परम्परागत भेषभूषा, बाजागाजा र हातहतियारसहित प्रस्तुत गरिने सराय नाचले सुनसान गाउँ यतिबेला रमाइलो बनेको छ । गुल्मीमा एकादशी, द्वादशी, त्रयोदशी र पूर्णिमाका दिन विभिन्न स्थानमा सराय नाच प्रदर्शन गरिन्छ । स्थानीयवासीका अनुसार उक्त नाचले प्राचीन युद्धकलाको झल्को दिनुका साथै व्यक्तिमा श्रद्धाभाव र धार्मिक आस्थाको विकास गरेको बताइन्छ।

मुसिकोट, कोट व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर सिंहका अनुसार बाइसे–चौबिसे राज्यकालमा भूरे राजाले कोतघरबाट सराय नाच नाच्ने परम्परा सुरु गरेका थिए । तत्कालीन समयमा कोतघरमा रहेका परम्परागत हतियार प्रदर्शन गर्दै नाचिने सराय कालन्तरमा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकास भएको उनले बताए।

सराय नाचका क्रममा सहभागीले खुँडा, भाला, तरबार र खुकुरी जस्ता परम्परागत हतियार हातमा लिएर युद्ध अभ्यासको झल्को दिने गरी नाच्ने परम्परा छ । आजभोलि असत्यमाथि सत्यको विजय र दुर्गा भगवतीप्रतिको आस्थाका रूपमा यसलाई लिने गरिएको अध्यक्ष सिंहले बताए।

सराय नाच मनोरञ्जनका लागि मात्र नभएर यसले सामाजिक सद्भाव, आपसी मेलमिलापलाई कसिलो बनाउने बताइन्छ । पञ्चेबाजा, नर्सिङ्गा, कर्नाल र दमाहाको तालमा दसैँका विभिन्न मौलिक लोकभाकामा नाचिने सराय नाचले परम्परागत सांस्कृतिकलाई जगेर्ना गर्न थप मद्दत पुराएको छ।

तर पछिल्लो समय वैदेशिक रोजगारी र बसाइँसराइका कारण मौलिक संस्कृति तथा परम्परा विस्तारै ओझेलमा पर्ने जोखिम बढेको इस्मा गाउँपालिका‐१ का वडाध्यक्ष शेरबहादुर कुँवर बताउँछन्। नयाँ पुस्तामा परम्परा सिक्ने जाँगर र पुरानो पुस्ताले जानेका ज्ञान हस्तान्तरण गर्ने काममा चासो नदिँदासम्म सराय नाचको निरन्तरतामाथि चुनौती थपिएको कुवँरले बताए।

मुसिकोट नगरपालिका–२ का बोमबहादुर ढकुरीले पुरानो पुस्ताबाट नयाँ पुस्तामा सराय नाचको ज्ञान र सीप हस्तान्तरण हुन नसक्दा ऐतिहासिक परम्परा जोगाउन समस्या परेको बताइन्छ।

धार्मिक आस्थासँगै ऐतिहासिक महत्व र सांस्कृतिक पहिचान जोडिएको सराय नाचलाई प्रवर्द्धन र संरक्षणका लागि स्थानीय तहसँगै स्थानीय समुदाय र युवा पुस्ताले थप सक्रियता देखाउनुपर्ने धुकोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए। रासस





Comments

comments

141799