काठमाडाैँ। दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आक्रमणबारे जोर्डनले सिरियाली सरकारसँग समन्वय गरिएको दाबी गरे पनि दमास्कसले त्यसलाई अस्वीकार गरेको छ।
दाराको स्वास्थ्य निर्देशनालयका प्रमुख खालिद अल–अम्यानका अनुसार मृतकमा तीन बालबालिका, तीन पुरुष र एक महिला छन् । उद्धार टोलीले थप पीडितको खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उहाँले बताए।
सिरियाली सरकारले आफ्नो सहमतिबिना आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको र प्रभावितलाई सहायता उपलब्ध गराइरहेको सरकारले जनाएको छ। यसैबिच सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाले जोर्डनसँगको नासिब सीमा नाका मङ्गलबार बन्द गर्ने घोषणा गरेको छ। नाका बन्द हुँदा यात्रु तथा व्यावसायिक यातायात दुवै दिशामा रोकिनेछन्।
मानव अधिकारका लागि सिरियाली अब्जर्भेटरीका अनुसार सोमबार दारा र छिमेकी स्वीडा प्रान्तका विभिन्न स्थानमा हवाई आक्रमण भएका थिए । तीमध्ये अल–मुजायरिब, नासिब र खलखलाह सैन्य विमानस्थल आसपासका क्षेत्र पनि छन्।
जोर्डनको सरकारी समाचार संस्था पेट्राका अनुसार जोर्डनको सेनाले दक्षिणी सिरियामा आतङ्कवादीहरू लुकेका स्थानलाई लक्षित गरी आक्रमण गरेको हो । सेनाले ‘जोर्डानियन डिटेरेन्स–हमौद’ अभियान सिरियाली सरकारसँगको समन्वयमा सञ्चालन गरिएको दाबी गरेको छ।
जोर्डनले शुक्रबार काराक प्रान्तमा चर्चको अन्त्येष्टिका क्रममा भएको घातक आक्रमणको जवाफमा कारबाही गरिएको जनाएको छ। उक्त घटनाका जिम्मेवार व्यक्ति दक्षिणी सिरियामा सक्रिय उग्रवादी समूहसँग सम्बन्धित रहेको जोर्डनको आरोप छ। सेनाले आक्रमणमा केही शङ्कास्पद आतङ्कवादी मारिएको वा घाइते भएको तथा उनीहरूका अखडा र उपकरण नष्ट गरिएको बताए पनि हताहतको विस्तृत विवरण सार्वजनिक गरेको छैन। रासस


