गण्डकी। शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ। दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको राजधानी पोखरा यतिबेला ‘गुल्जार’ बनेको छ।
पर्यटकीय गतिविधि बढेका छन् । पोखराको पर्यटन साहसिक खेलसँग पनि जोडिएको छ। यतिबेला पोखराको आकाशमा दैनिक प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्म भइरहेको छ।
भनिन्छ पोखराको पर्यटन ‘प्रकृति, संस्कृति र साहस’ मा आधारित छ । यसैमध्येको एक साहसिक खेल हो स्काइडाइभिङ । जुन साहस र रोमाञ्चकताको अनुभव बटुल्न चाहाने पर्यटकको रोजाइमा पर्ने गरेको छ । १३ हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट हाम फालेर प्यारासुटको सहायताले भुइँमा अवतरण गर्नु जो कोहीका लागि असम्भव छ । तर, खर्चिला पर्यटकका लागि भने आफ्नो हिम्मत जाँच्ने र सोख पूरा गर्ने माध्यम बनेको छ स्काइडाइभिङ।
विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ अबदेखि वर्षभरि नियमित रूपमा सञ्चालन हुने भएको छ । यसअघि वर्षको एक/दुई याममा मात्र स्काइडाइभिङ सञ्चालन हुँदै आएको थियो । हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरसँग मिलेर स्काइडाइभिङ इन नेपाल प्रालिले पोखरामा स्काइडाइभिङ गराउँदै आएको छ । पोखरा महानगरपालिका–२३ पामे, लौराकमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानमा स्काइडाइभिङ भइरहेको कम्पनीका प्रशिक्षक एलिस थापाले जानकारी दिए।
उनका अनुसार अङ्ग्रेजी महिना अक्टुबरयता ३५ जनाले पाइलटसहित (टेण्डम) र २० जनाले एकल (सोलो) स्काइडाइभिङ गरेका छन् । असोज–कात्तिकमा मौसम खुला हुने भएकाले यो याममा स्काइडाइभिङका लागि आउने पर्यटक बढी हुने गरेको प्रशिक्षक थापाले बताए।
“तालिमप्राप्त र अनुभवी विदेशी नागरिकहरू एकल (सोलो) स्काइडाइभिङका लागि पोखरा आउन रुचाउँछन्, पछिल्लो समय नेपालीहरूमा पनि स्काइडाइभिङको आकर्षण बढेको छ”, उनले भने, “अधिकांश पाइलटसहित (टेण्डम) उडान गर्नेहरू हुन्छन्।”
पोखराको पुरानो विमास्थलबाट गएको हेलिकप्टर लौराकबाट १३ हजार फिटको उचाइमा पुगेपछि प्रशिक्षकहरूले पर्यटकलाई स्काइडाइभिङ गराउने गरेका छन्। हेलिकप्टरबाट हाम फालेको ५० सेकेन्डपछि प्यारासुट खुल्ने र त्यसपछि सातदेखि ८ मिनेटसम्म आकाशमा उडान हुने गरेको छ। १३ हजार फिटमाथि रहेको हेलिकप्टरबाट हाम फालेका पर्यटक प्यारासुटको सहायतामा अवतरण गर्ने गर्छन्।
कम्पनीले स्काइडाइभिङ गरेबापत नेपालीका लागि डिलक्स प्याकेजको मूल्य रु एक लाख दुई हजार, भिआइपी प्योकजको रु एक लाख २३ हजार र डायमण्ड प्याकेजका लागि रु एक लाख ४९ हजार तोकेको छ । त्यस्तै विदेशी नागरिकले ती प्याकेजका लागि क्रमशः रु ७५०, ९०० र एक हजार २०० डलर तिनुपर्ने प्रशिक्षक थापाले बताए। उनीसहित सुवास थापा, मनिष हिराचन र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसी थापाले पोखरामा स्काइडाइभिङ गराउँदै आएका छन्।
“नेपालमै केही गरौँ भन्ने सोचका साथ स्काइडाइभिङ सुरु गरेका हौँ, केही वर्ष अघिसम्म पोखरामा विदेशीले मात्र स्काइडाइभिङ गराउँथे, अहिले हामी सबै नेपाली प्रशिक्षक छौँ”, प्रशिक्षक थापाले भने ।
स्काइडाइभिङलाई नेपालमा व्यावसायिक रूपमा अगाडि बढाउने सोचले आफूले विदेशमा गएर तालिम हासिल गरेको उनले बताए। पोखरालाई स्काइडाइभिङलगायत साहसिक खेलको केन्द्र बनाउन सकिएमा रोजगारी सिर्जनादेखि देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सकिने उनको भनाइ छ। पोखराको आकाशबाट देखिने हिमाल र प्राकृतिक सौन्दर्यले स्काइडाइभिङ गर्ने जोकोहीलाई लोभ्याउने गरेको प्रशिक्षक थापाले बताए।
कम्पनीका सञ्चालक निर्मल पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिएसँगै पोखरामा नियमित रूपमा स्काइडाइभिङ सञ्चालनमा आएको बताउनुभयो । गत वर्षसम्म प्राधिकरणले एकपटकमा जम्मा १५ दिनका लागि मात्र स्काइडाइभिङको अनुमति दिँदै आएको थियो।
‘आरएओसी’ दिन स्काइडाइभिङ कम्पनीले गरेको माग प्राधिकरणबाट सुनुवाई भएपछि पोखरामा नियमित रूपमा स्काइडाइभिङ सञ्चालन गर्न सहज भएको कम्पनीका सञ्चालक पाण्डेले बताउनुभयो। एरियल स्पोटर्स विधामा पर्ने स्काइडाइभिङ दिगो र नियमित हुन सकेमा धेरै विदेशी पर्यटलाई पोखरामा भित्र्याउन सकिने उनको भनाइ छ।
हाल स्काइडाइभिङ इन नेपाल प्रालिले मात्र प्राधिकरणबाट ‘आरएओसी’ पाएको छ । कम्पनीले तालिम प्राप्त र अनुभवी नेपाली प्रशिक्षकहरूबाटै स्काइडाइभिङ गराउँदै आएको छ। स्काइडाइभिङका लागि पोखरा आकर्षक गन्तव्य रहेको सञ्चालक पाण्डेले बताए।
प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्ने स्काइडाइभिङ कम्पनीलाई मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिने गरेको छ । उक्त प्रमाणपत्र पाउने कम्पनीले जुनसुकै समयमा स्काइडाइभिङ गराउन पाउने प्राधिकरणले जनाएको छ।
सञ्चालन प्रमाणपत्र लिन स्काइडाइभिङ कम्पनीहरूसँग आफ्नै वायुयान (हेलिकप्टर/जहाज) हुनुहुर्ने नत्र हेलिकप्टर सेवा प्रदायकसँगको पाँच वर्षे सम्झौता चाहिने प्रावधान रहेको छ । स्काइडाइभिङ गराउन चाहाने कम्पनीका लागि छुट्टै आधारस्थल, एयर स्पेस र आफ्नै प्रशिक्षकसमेत हुनुपर्ने व्यवस्था छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा साहसिक खेल पर्यटनका हिसाबले पनि अग्रणी स्थानमा रहेको बताए। “पोखराको पर्यटन नेचर, कल्चर र एडभेन्चरको समिश्रण हो, यी तीनै क्षेत्रबाट हामीले ठूलो लाभ लिन सक्छौँ”, उनले भने, “साहसिक पर्यटन गतिविधिमा विदेशी पर्यटकलाई आकर्षित गर्न सकियो भने पोखराको पर्यटनले नयाँ फड्को मार्छ।” रासस


