काठमाडाैँ । इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने निर्वाचनमा मतदाताहरूले मङ्गलबार मतदान गरिरहेका छन्।
इजरायलको नेतृत्व कसले गर्ने र देशको सुरक्षा कसले सुनिश्चित गर्न सक्छ भन्ने विषयमा मतदाताहरू विभाजित छन्। नेतान्याहूलाई सत्ताबाट हटाउन चाहने विभिन्न दलले चुनौती दिएका छन्। जनमत सर्वेक्षणहरूले उहाँ र पूर्व सैन्य प्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने सङ्केत गरेका छन् । निर्वाचनमा ७० लाखभन्दा बढी मतदाता सहभागी हुन योग्य छन्।
“यो निकै भावुक र निर्णायक क्षण हो,” मतदानपछि नेतान्याहूले भने। उनले अरब समुदायका मतदाता ठुलो सङ्ख्यामा मतदान केन्द्रमा पुगिरहेको उल्लेख गरे। अर्कोतर्फ, आइजेनकोटले मतदातालाई नेतान्याहूको डर देखाउने रणनीतिबाट प्रभावित नहुन आग्रह गरे।
केन्द्रीय निर्वाचन समितिका अनुसार मध्याह्नसम्म ३१ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरिसकेका थिए। सन् १९७३ यताका निर्वाचनमा मध्याह्नसम्मको यो सबैभन्दा उच्च मतदान दर हो।
इजरायलभित्र निर्वाचनको मुख्य मुद्दा राष्ट्रिय सुरक्षा र देशको रक्षाका लागि उपयुक्त नेतृत्व चयन गर्नु हो। अन्तरराष्ट्रिय रूपमा भने गाजामा जारी युद्ध र वेस्ट बैंकमा यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसाका कारण इजरायलको प्रतिष्ठा र विश्वभरका यहुदीहरूको सुरक्षाबारे चिन्ता बढेको छ।
सरकार गठनमा अरब दल निर्णायक बन्न सक्ने
इजरायलको विभाजित संसदीय राजनीतिमा कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गर्ने सम्भावना कम छ। नेतान्याहूको धार्मिक तथा अतिराष्ट्रवादी गठबन्धन र उनलाई सत्ताबाट हटाउन चाहने दलहरू दुवैले बहुमत जुटाउन नसके सरकार गठनका लागि लामो वार्ता हुन सक्छ।
अरब समुदायको नेतृत्वमा रहेका दलहरू सरकार गठनमा निर्णायक बन्न सक्ने सम्भावना छ। इस्लामवादी राआम पार्टीका प्रमुख मन्सुर अब्बासले आफ्नो दलको मतले सरकार परिवर्तन गर्न सक्ने बताए। उनले अरब समुदायमा मतदान गर्नेहरूको सङ्ख्या ७० प्रतिशतभन्दा बढी पुग्ने आशा व्यक्त गरे । इजरायलको कुल जनसङ्ख्यामा अरब समुदायको हिस्सा करिब २० प्रतिशत छ।
अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले नेतान्याहूको गठबन्धन पराजित भएमा अब्बासको प्रभावमा सरकार बन्न सक्ने चेतावनी दिए।
यसैबिच इजरायलको नागरिक अधिकारसम्बन्धी एक संस्थाले मतदानमा भइरहेको ढिलाइले प्यालेस्टिनी मूलका इजरायली नागरिकको मतदान अधिकार प्रभावित हुन सक्ने भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
सुरक्षा र सैन्य सेवा प्रमुख चुनावी मुद्दा
सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि इजरायलमा हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचन हो। उक्त आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो। तेल अभिभमा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवार र पूर्वबन्धकहरूले मृतकको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।
आइजेनकोटले निर्वाचनको दिन गाजानजिकका आक्रमण प्रभावित समुदायहरूको भ्रमण गरेका थिए। उनका छोरा र दुई भतिजा गाजामा मारिएका थिए। उनले वर्तमान सरकारलाई हटाउन मतदान गर्न आह्वान गर्दै इजरायलका लागि यो निर्णायक दिन भएको बताए।
निर्वाचनमा राष्ट्रिय सुरक्षा, अनिवार्य सैन्य सेवा, न्यायपालिकाको स्वतन्त्रता र सरकारको जवाफदेहिता प्रमुख मुद्दा बनेका छन् । नेतान्याहूका समर्थकहरूले उहाँलाई युद्धको समयमा देशलाई नेतृत्व दिन सक्ने अनुभवी राजनीतिज्ञका रूपमा हेर्छन्। उनका आलोचकहरूले भने भ्रष्टाचारसम्बन्धी मुद्दा, न्यायपालिकामाथिको दबाब र अति अर्थोडक्स यहुदीहरूलाई अनिवार्य सैन्य सेवाबाट छुट दिने व्यवस्थाको आलोचना गर्दै आएका छन्।
आइजेनकोटका समर्थकहरूले उहाँलाई सुरक्षा क्षेत्रमा अनुभव भएको र इजरायलको अन्तरराष्ट्रिय सम्बन्ध सुधार गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरेका छन्। उनीसँग सहकार्य गर्न सक्ने दलहरूले न्यायपालिकाको स्वतन्त्रता बलियो बनाउने र अति अर्थोडक्स पुरुषलाई पनि अनिवार्य सैन्य सेवामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्। रासस


