हङकङको लागुऔषध अखडामा दक्षिण एसियाली समूहद्वारा लुटपाटको प्रयास

नोट: समाचारसँगै प्रस्तुत गरिएको तस्बिरमा देखिएका व्यक्तिहरू वास्तविक घटनाका पात्रहरू होइनन्। तस्बिरमा एआई (AI) प्रविधिबाट तयार पारिएका दृश्यसमेत समावेश गरिएका छन्। त्यसैले यसलाई घटनाको वास्तविक तस्बिरका रूपमा नबुझिदिनुहुन अनुरोध छ।

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ नोभेम्बर । हङकङमा लागुऔषध कारोबार हुने आशंका गरिएको एक स्थानमा दक्षिण एसियाली मूलका व्यक्तिहरूको समूहले हथौडासहित प्रवेश गरी लुटपाटको प्रयास गरेको भिडियो सार्वजनिक भएको छ।

अक्टोबर २८ राति ८:११ बजे भएको भनिएको घटनाको सीसीटीभी फुटेजमा क्याप र मास्क लगाएका व्यक्तिहरू कोठाभित्र पसेर पैसा लुट्न खोजेको देखिन्छ।

लुटपाटको प्रयासपछि सुरु भएको झडपमा १० जनाभन्दा बढी व्यक्ति संलग्न भएका थिए। साँघुरो कोठाभित्र मुक्का, कुर्सी, टेबलका खुट्टा र फलामका सामग्री प्रयोग गरी एकअर्कामाथि आक्रमण गरिएको थियो।

झडपका क्रममा एक व्यक्ति हथौडा बोकेर प्रवेश गरेपछि अवस्था झन् तनावपूर्ण बनेको थियो। भिडन्तमा निगरानीका लागि राखिएको टेलिभिजनसमेत निकालेर प्रहार गरिएको भिडियोमा देखिन्छ।

केही समयपछि आक्रमणकारी समूह घटनास्थलबाट भागेको देखिन्छ। घटनास्थल र संलग्न व्यक्तिहरूबारे थप विवरण सार्वजनिक भएको छैन।

स्रोत: हङकङ अन डट सीसी (hk. on.cc)





Comments

comments

142003