साथीको हत्या गरेको आरोपमा हङकङमा दुई फिलिपिनो नागरिक पक्राउ

हङकङको सेन्ट्रलस्थित जार्डिन हाउस, जहाँ गत नोभेम्बर ७ मा भएको विवाद र कुटपिटको घटनापछि एक फिलिपिनो नागरिकको ज्यान गएको थियो। (तस्बिर: सन्दर्भ तस्बिर / विकिमिडिया कमन्स)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ नोभेम्बर। हङकङको सेन्ट्रल क्षेत्रमा भएको सार्वजनिक झगडापछि आफ्नै साथीको हत्या गरेको आरोपमा दुई फिलिपिनो नागरिक पक्राउ परेका छन्।

मदिरा पचाउने क्षमता कम भएको भन्दै जिस्क्याएको विषयमा विवाद बढेपछि उक्त घटना भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङ प्रहरीले गत शनिबार सेन्ट्रल क्षेत्रबाट ४४ र ५२ वर्षका दुई व्यक्तिलाई पक्राउ गरेको थियो। घटनाको पाँच दिनपछि अर्थात् बिहीबार प्रहरीले यस मुद्दालाई कर्तव्य ज्यान (हत्या) मा रूपान्तरण गरी अनुसन्धान अघि बढाएको छ।

स्रोतका अनुसार नोभेम्बर ७ तारिखका दिन सेन्ट्रलस्थित जार्डिन हाउसमा पानीबाट ओत लाग्नका लागि पीडित र आरोपितसहित अन्य चार साथीहरू भेला भएका थिए। सोही क्रममा ४१ वर्षीय फिलिपिनो निजी सवारी चालक मल्लानाओले एक आरोपितलाई रक्सी पचाउन नसक्ने भन्दै जिस्क्याएपछि विवाद सुरु भई कुटपिटमा परिणत भएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका मल्लानाओको पछि मृत्यु भएको हो।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ भने पक्राउ परेका दुवै जनामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

.





Comments

comments

142285