रास्वपाका २० सांसद १० दिने चीन भ्रमण जाने, को-को परे लिस्टमा ?

सन्दर्भ तस्बिर

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी कात्तिक २९ गतेदेखि १० दिने चीन भ्रमणमा जाने भएको छ।

भ्रमणमा जानुअघि बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा टोलीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराख्न निर्देशन दिएका छन्। प्रधानमन्त्री शाहले चीनको विकास मोडल, प्रविधि र सुशासनबाट सिकेर देशको हितमा उपयोगी अनुभव र सहकार्य भित्र्याउन टोलीलाई आग्रह गरे।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार यो भ्रमण मूलतः दुई देशबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तारमा केन्द्रित रहनेछ। भ्रमणका क्रममा सार्वजनिक सेवा प्रवाह, सुशासन, संस्थागत क्षमता अभिवृद्धि, आर्थिक विकास र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्व लगायतका विषयमा चिनियाँ पक्षसँग अनुभव आदानप्रदान तथा उच्चस्तरीय छलफल हुने पार्टीले जनाएको छ।

चीन भ्रमणमा जाने २० सदस्यीय टोलीको नामावली :
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा चीन जान लागेको प्रतिनिधिमण्डलमा सांसद तथा नेताहरू गरी कुल २० जना सहभागी छन्। जसमा टोली नेता विपिनकुमार आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेशकुमार सापकोटा रहेका छन्। त्यस्तै, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमण टोलीमा समावेश छन्।

प्रतिनिधिमण्डल १० दिनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ।





Comments

comments

142289