वाङ ताई सिनमा आगलागी हुँदा एक्लै बस्दै आएकी महिलाको मृत्यु, ३०० जनाको उद्धार

–

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ नोभेम्बर। हङकङको वाङ ताई सिन क्षेत्रमा भएको एक आगलागीको घटनामा ८० वर्षीया एक वृद्ध महिलाको दुखद निधन भएको छ।

सार्वजनिक आवास इकाइमा अचानक सल्किएको आगोका कारण सो भवनमा बसोबास गर्ने करिब ३०० जना मानिसहरूलाई सुरक्षित स्थानमा सार्नु परेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

प्रहरी तथा अग्नि नियन्त्रण विभागका अनुसार मृतक महिला उक्त अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्।

बिहान ८ बजेर ४५ मिनेटको समयमा लोअर वाङ ताई सिन इस्टेटको लुङ क्वाङ हाउसमा आगो लागेको खबर विभागलाई प्राप्त भएको थियो। सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको अग्नि नियन्त्रकहरूको टोलीले करिब आधा घण्टाको निरन्तर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको थियो।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिनियर स्टेसन अफिसर चान चुन-वाईले आगो लागेको कोठाभित्र अत्यधिक मात्रामा सामानहरू थुपारिएको अवस्थामा फेला परेको जानकारी दिएका छन्। विभागको प्रारम्भिक अनुसन्धानले उक्त आगलागीमा कुनै शंकास्पद कारण नदेखिएको उनले स्पष्ट पारेका छन्।

आगलागीको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले थप अनुसन्धान जारी राखेको छ।





Comments

comments

142335