नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडो नेवाः खलःद्वारा आयोजित नेपाल संवत् ११४७ को अवसरमा न्हू दँया भिन्तुना विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
अमेरिकाको कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा सुकुन्दा र्याली, शुभकामना आदानप्रदान, सम्मान तथा पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुति र नयाँ कार्यसमितिको पदस्थापनलगायतका कार्यक्रम सम्पन्न भएका हुन्।
वेस्टमिन्स्टर सिटीका मेयर क्लेयर कार्मेलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रममा कोलोराडोमा रहेका साहित्यकार, समाजसेवी तथा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा कोलोराडो नेवाः खलःले नेपाल संवत् ११४७ को अवसर पारेर दुई विशिष्ट सम्मान तथा पुरस्कार प्रदान गरेको छ। यस वर्षको ‘कोलोराडो नेवाः खलः शंखधर साख्वा सिरपा–११४६’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरलाई प्रदान गरिएको छ।
त्यसैगरी ‘कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन जोशी सिरपा–११४६’ बाट साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मा सम्मानित भएका छन्।
प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहनुका साथै यसै वर्ष कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गरी नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको मूल्यांकन गर्दै अनेसास कोलोराडो च्याप्टरलाई शंखधर साख्वा सिरपा प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी, लामो समयदेखि कोलोराडोमा बसोबास गर्दै अध्ययन तथा अध्यापनमा सक्रिय रहेर अवकाश जीवन बिताइरहेका डा. शर्माले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा विकासमा लेख, रचना र अभिव्यक्तिमार्फत पुर्याएको योगदानको कदर गर्दै सत्यमोहन जोशी सिरपाबाट सम्मान गरिएको हो। विभिन्न नेपाली संघसंस्थामा आबद्ध रही नेपालीभाषी समुदायको पहिचान र विकासमा समेत उनको सक्रिय योगदान रहँदै आएको छ।
कोलोराडो नेवाः खलःले गत वर्षदेखि यी दुई पुरस्कार प्रदान गर्न थालेको हो। कोलोराडोमा नेपाली भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण तथा विकासमा योगदान पुर्याउने व्यक्तित्वलाई सत्यमोहन जोशी सिरपा र स्थानीय नेपाली संघसंस्थामध्ये उत्कृष्ट योगदान पुर्याउने संस्थालाई शंखधर साख्वा सिरपा प्रदान गर्ने परम्परा सुरु गरिएको संस्थाले जनाएको छ। दुवै पुरस्कार नेपालस्थित सम्बन्धित प्रतिष्ठान तथा साहित्यिक संस्थासँगको सहकार्यमा प्रदान गरिँदै आएको छ।
कार्यक्रममा संस्थाका विगतका गतिविधि र उपलब्धि समेटिएको स्मारिका “ज्वलं” को पनि विमोचन गरिएको थियो। संस्थाको मयजु क्लब संयोजक रमिता तुलाधरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रेमकाजी श्रेष्ठले आगामी दुई वर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नाम घोषणा गरेका थिए। निर्वाचन समितिका सदस्य भुवनकृष्ण श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका थिए।
कोलोराडो नेवाः खलःको आगामी दुई वर्षे कार्यकालका लागि चयन भएको कार्यसमिति पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन् । अध्यक्ष: मनोज काजी तुलाधर, निवर्तमान अध्यक्ष: भूषणलाल श्रेष्ठ, उपाध्यक्ष: सञ्जय शाक्य, महासचिव: नारायणप्रसाद दुवाल, सचिव: राजन जोशी , कोषाध्यक्ष: दिवेशवीर सिंह कंसाकार, कल्चरल सेक्रेटरी सुरेन्द्र महर्जन, इभेन्ट अफिसर – विकास प्रधान, पब्लिक रिलेसन्स अफिसर: अनिल बज्राचार्य रहेका छन्।
यसैगरी कार्यसमितिका सदस्यहरूमा सुरेश श्रेष्ठ, नरेश श्रेष्ठ, मनिष ताम्राकार, महेन्द्र महर्जन , रोशन महर्जन रहेका छन् भने विभिन्न संयोजकहरूमा लयताच्यः (Volunteer) – राम गोपाल श्रेष्ठ, मिसा (Woman) – शर्मिला प्रधान, आइटी – आयुष श्रेष्ठ, ल्यायम्ह (Youth) – मेघा ताम्राकार, मिडिया – शैलेन्द्र श्रेष्ठ चयन भएका छन्।
कार्यक्रममा निवर्तमान अध्यक्ष भूषणलाल श्रेष्ठको चार वर्षे कार्यकालमा संस्थाले गरेका गतिविधि, सांस्कृतिक संरक्षणका प्रयास तथा सामुदायिक योगदानको चर्चा गरिएको थियो। नवनिर्वाचित अध्यक्ष मनोजकाजी तुलाधरले पदभार ग्रहण गर्दै आफूलाई जिम्मेवारी सुम्पिएकोमा सबैप्रति आभार व्यक्त गरे। उनले संस्थाको उद्देश्य प्राप्तिका लागि सबैको साथ, सहयोग र सहकार्य अपेक्षा गरेको बताए। नवनिर्वाचित उपाध्यक्ष सञ्जय शाक्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
यस अवसरमा कोलोराडोमा विगत २० वर्षदेखि बसोबास गर्दै नेपालीभाषी समुदायका विभिन्न संघसंस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका ९३ वर्षीय समाजसेवी रामप्रसाद श्रेष्ठलाई संस्थाको मानार्थ सदस्यता प्रदान गरी सम्मान गरिएको थियो। नेपाल सरकारको उच्च पदमा रहेर राष्ट्रसेवा गरेपछि अवकाश जीवन बिताइरहेका श्रेष्ठ नेपाली भाषा, संस्कृति र सामुदायिक गतिविधिप्रति निरन्तर सद्भाव राख्दै आएका व्यक्तित्व हुन्।
कार्यक्रममा कलाकार प्रियंका श्रेष्ठले नेवारी भाषाको गीतसंगीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्। सविता श्रेष्ठ र मेघा ताम्राकारले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व तथा संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए। प्रमुख अतिथि मेयर क्लेयर कार्मेलियाले पनि शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन्।
यसै अवसरमा संस्थाले आयोजना गरेको इन्द्रजात्रामा सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकार तथा स्वयंसेवकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्लेटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज प्रायोजकहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमको समापनमा निवर्तमान अध्यक्ष भूषणलाल श्रेष्ठले आफ्नो चार वर्षे कार्यकालमा साथ, सहयोग र हौसला प्रदान गर्ने कार्यसमिति, सल्लाहकार, सदस्य, स्वयंसेवक, प्रायोजक तथा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गरे। नेपालीभाषी समुदायमा सकारात्मक परिवर्तन र सामाजिक योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका थिए।
नयाँ कार्यसमितिको चयन तथा पदस्थापनसँगै कोलोराडो नेवाः खलःले आगामी कार्यकालमा पनि भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

