सुनसरी। सुनसरीका विभिन्न स्थानमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ।
जिल्लाको इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिधाम, सप्तकोशी नदी, बराहक्षेत्रको राजाबास, धरानका सर्दु, सेउती खोला, सुनसरी खोला, बूढीखोला तथा झुम्का चतरा नहरलगायतका नदी, खोला र जलाशयमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
बिहानैदेखि व्रतालुले पूजाका सामग्री र फलफूल सजाएर जलाशयमा पुगेर पूजा आराधना गरेका थिए । छठका अवसरमा ठकुवा, भुसुवा, उखु, नरिवल, केरा, विभिन्न फलफूललगायत प्रसाद सामग्री चढाएर सूर्यको उपासना गरिएको थियो।
सुनसरी र मोरङको सिमानामा पर्ने बूढीगङ्गा-जमुना मुक्तिधाममा विगत ३६ वर्षदेखि व्यवस्थित रूपमा सामूहिक छठ पर्व मनाउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्णले बताए। यस वर्ष देशका विभिन्न जिल्ला तथा स्थानीय तहबाट श्रद्धालुहरू आएर छठ पर्व मनाएको उनले जानकारी दिए।
उनका अनुसार छठ पर्वलाई व्यवस्थित बनाउन १० वटा उपसमिति गठन गरी करिब १०० जना स्वयंसेवक परिचालन गरिएको छ। श्रद्धालुको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, यातायात तथा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको उनले बताए। पर्वका अवसरमा गत शुक्रबार नेपाली सेनाको ब्याण्डसहित कलशयात्रासमेत निकालिएको थियो।
मैथिली र भोजपुरी समुदायको प्रमुख पर्वका रूपमा रहेको छठ पछिल्लो समय धार्मिक तथा सांस्कृतिक महत्वसँगै सामाजिक एकता र सद्भावको पर्वका रूपमा विस्तार हुँदै गएको ब्राह्मण समाज सुनसरीका अध्यक्ष वासुदेव बरालले बताए। छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरे।
सूर्य र जल मानव जीवनका महत्वपूर्ण आधार भएकाले प्रकृतिप्रतिको सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा छठको विशेष महत्व रहेको उनको भनाइ छ । पहिले घरघरमा सानो कुण्ड बनाएर मनाइने छठ पछिल्लो समय सामूहिक रूपमा मनाउने प्रचलन बढेको उनले बताए।
सुनसरीका विभिन्न स्थानका साथै धरानको सर्दु र सेउती खोलामा समेत सामूहिक रूपमा छठ मनाइएको छ । पहिले मैथिली र भोजपुरी समुदायमा बढी सीमित रहेको यस पर्वमा पछिल्लो समय अन्य समुदायका मानिसको सहभागितासमेत बढ्दै गएको उनले बताए।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ । पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना विधि सम्पन्न गरी व्रतालुले निराहार व्रत सुरु गर्छन्। तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको थियो भने चौथो दिन अर्थात् भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको विधिवत् रुपमा समापन हुनेछ। रासस

