न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ नोभेम्बर। हङकङको तुन मुन अस्पतालबाट एनेस्थेसिया सुई चोरी भएको घटनामा संलग्न ३८ वर्षीय पुरुष शल्यचिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।
अस्पतालभित्रको एक कार्यालयमा खानतलासी गर्दा एनेस्थेसिया औषधि भरिएका सातवटा सुई बरामद भएपछि उनलाई चोरी र खतरनाक लागुऔषध राखेको अभियोगमा मुद्दा चलाइएको हो।
अस्पतालका कर्मचारीले एनेस्थेसिया सुई हराएको थाहा पाएपछि गत मङ्गलबार प्रहरीलाई खबर गरेका थिए। सोही दिन दिउँसो तुन मुन जिल्ला अपराध अनुसन्धान टोलीले अस्पतालकै एक कार्यालयमा छापा मारी दुखाइ कम गर्ने खतरनाक औषधि भरिएका सातवटा सुई फेला पारेको थियो।
घटनास्थलबाटै पक्राउ परेका ती स्थानीय चिकित्सकलाई आज बिहीबार (नोभेम्बर २६ तारिख) तुन मुन मजिस्ट्रेट अदालतमा पेस गरिने कार्यतालिका छ।
हङकङको चोरीसम्बन्धी कानुनअनुसार यस्तो कसुरमा अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।
तुन मुन अस्पताल प्रशासनले उक्त सुई हराएको समयतिर सम्बन्धित अप्रेसन थिएटरमा एक बिरामीको शल्यक्रिया भएको पुष्टि गरेको छ।
यद्यपि, विस्तृत चिकित्सकीय मूल्याङ्कनपछि यस घटनाले ती बिरामीको शल्यक्रिया, उपचार वा स्वास्थ्य लाभमा कुनै नकारात्मक असर नपारेको र बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अस्पताल व्यवस्थापनले प्रभावित बिरामीसँग माफी माग्दै संलग्न चिकित्सक हाल अस्पतालको सेवामा नरहेको स्पष्ट पारेको छ। साथै, यस घटनाबारे अस्पताल प्राधिकरणको मुख्य कार्यालय र स्वास्थ्य विभागलाई समेत औपचारिक जानकारी गराइसकिएको छ।
स्रोत: एजेन्सी

