साउदीमा गोर्खालीले जितेर १ लाख पाए, नारायणकाजीले भने- ‘नेपाली स्वाभिमान नझुकाउ’

महेश श्रेष्ठ / एचकेनेपाल डट कम –
साउदी अरब, प्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ को उपाधल चुमेर न्यू गोर्खाली अलअरिद रियादले विजेताको पगरी आफ्नो बनाएको छ।

प्रवासी नेपाली कामदारहरुको भूमि साउदी अरबमा उनीहरुले नेपालका पूर्वप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबाट विजेताको पगरी, शिल्ड अनि एकलाख रुपैयाँ पुरस्कार प्राप्त गरेर ऐतिहासिक विजेता हुन पनि सफल भए।

गोर्खालीले आयोजक अन्नपूर्ण “बि” जुबैललाई १–० को अन्तरमा पराजित गरेपछि विजेता भएको हो । गोर्खालीका लागि खेलको मध्यान्तरपछि यमन गुरुंगले अन्नपूर्णको पोष्टमा बललाई जाली चुमाउन सफल भएपछि आयोजकलाई पराजित गर्ने निर्णायक गोल भयो।

सोही गोललाई फर्काउन नसकेपछि आयोजक अन्नपूर्ण दोस्रो स्थानमा चित्त बुझाउदै रनरअपको उपाधिसहित ७५ हजार रुपैयाँले पुरस्कृत भयो ।
त्यसैगरी सिमेन्सन अलअमारा जुबैलले पिटि स्टिल्सलाई पेनाल्टी सुटआउटमा ६–५ को अन्तरमा पराजित गरेर ५० हजार रुपैयाँ सहित सेकेण्ड रनरअपको उपाधि हात पार्दै प्रतियोगिताको तेस्रो स्थान प्राप्त गर्यो । विजेताहरुलाई शिल्ड, प्रमाणपत्र तथा पुरस्कार पूर्व उप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले प्रदान गरे।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा सरकार संचालक समितिका ईञ्चार्ज समेत रहेका श्रेष्ठले समापन समारोहलाई सम्बोधन पनि गरेका थिए । श्रेष्ठले नेपालीहरु बाध्यताले वैदेशिक रोजगारमा आएर पनि रोजगारमा देखिएको समस्याले थप पीडित भएकोमा दुःख व्यक्त गर्दै नेपालीहरुलाई वैदेशिक रोजगारमा जान नपर्ने अवस्था सृजना गर्नु पर्ने र यसका लागि नेपालको सरकार र राजनैतिक दलहरु गम्भीर हुनु पर्ने बताए । उनले २५ लाख नेपालीहरु वैदेशिक रोजगारमा रहेको उल्लेख गर्दै नेपालीहरुको स्वाभिमान नगिराउन आग्रह गरे।

उनले प्रवासमा रहेर पनि खेलकुद प्रतियोगिताको आयोजना गरिएको प्रति सह्राना गर्दै यस्ता खेलले शारिरीक, मानसिक तन्दुरुस्तिमा मात्रै फायदा हुने नभई नेपालीहरुका बीचको एकतालाई थप मजबुत बनाउने, राष्ट्रप्रेम र सद्भावलाई समेत बढाउने बताए।

साउदी अरबमा पहिलो पटक र अनौपचारिक भ्रमणमा आएका श्रेष्ठले यहाँका नेपाली कामदारहरुको समस्या नजिकबाट बुझेको चर्चा गर्दै समस्या समाधानका लागि यथाशिघ्र गम्भीरतापूर्वक पहल कदमी लिने प्रतिबद्धता पनि गरे।

साउदी अरबको पूर्वीक्षेत्रीय प्रान्तको जुबैलको रोयल कमिशनस्थित खेल मैदानमा आयोजित उक्त गोल्डकपको समापन समारोह आयोजक न्यू अन्नपूर्ण स्पोर्टस् क्लबका संयोजक श्री यावा लिम्बूको सभापतित्व र पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। समापन समारोहमा नेपाली राजदूतावसका कार्यबाहक राजदूत आनन्द शर्मा, एनआरएनए, साउदीका अध्यक्ष नारायण पासवान, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष कमल शाही लगायतको उपस्थिति थियो।

प्रवासी नेपालीहरुले व्यवस्थित खेलमैदानका आयोजना गरेको र हालसम्मकै ठूलो राशिको पुरस्कार सहितको यो प्रतियोगिता साउदी अरबमै पहिलो हो । पाँचथरस्थित यावा मार्गको स्तरवृद्धि र प्रवासी पीडित नेपालीहरुको सहयोगार्थ आयोजना गरिएको यस प्रतियोगितामा सहआयोजकमा नेपाली साझा मंच र नेपाली विवेकशिल पार्टी रहेका छन्। गत ११ सेप्टेम्बरबाट संचालित उक्त प्रतियोगिता तीन दिनपछि आज समापन भएको हो।





Comments

comments

Leave a Reply

14259