आज विजयादशमी मनाइँदै, टीकाको उत्तम साईत ८ बजेर ४५ मिनेटमा…

एचकेनेपाल डट कम संवाददाता-
२०७३ असोज २५, मङ्गलबार, काठमाडौं। आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व धुमधामले मनाइँदैछ।

बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। यो वर्षको विजयादशमीको टीकाको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषहरुले बताएका छन्।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार मंगलबार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको छ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा विजयादशमी मनाइन्छ। घटस्थापनादेखि नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आज लगाउने प्रचलन छ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गाभवानीको प्रसाद, टीका र जमरा लगाइन्छ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ। दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ।

दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ।

हिन्दूहरुको महान चाड विजयादशमीको अवसरमा सुख, शान्ति सुस्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

– एचकेनेपाल डट कम परिवार

आज विजयादशमी पर्व धुमधामले मनाइँदै…
http://wp.me/p5vPvT-3Nj

Posted by HKNepal.com on Monday, 10 October 2016





Comments

comments

Leave a Reply

14589