अमेरिकामा यसरी मनाईयो दशै…

विजय थापा,वाशिंगटन डीसी –
असोज २६ ,अमेरिकामा रहेका समस्त नेपालीले हर्षोल्लासका साथ बिजया दशमी मनाएका छन्। बर्ष दिनमा आउने हिन्दूहरुको सबै भन्दा ठूलो चाडलाई परदेशमा रहेका आफन्त ,ठूला बडा मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा थापी मनाएका छन्।

बिहान ८ बजेर ४५ मिनेटको शुभ साइतदेखि टीका थाप्न सुरु गरेका नेपालीहरु जान सक्ने मान्यजनका घरमा गइ आशिर्बाद लिएका छन्।

अमेरिकाका सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई बिदेशमा नेपाल जस्तै मनोरंजन पूर्वक मनाएको समाचार छ । यस बर्षको दशैं मंगलबार कामको दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्वलाई मनाउन कुनै कसर छाडेनन्।

यसको अतिरिक्त नेपालीहरुले नेपाल जस्तै गरि पनि परिवार अनुसार घरमा पुरोहित राख्न नसकेता पनि नौ दिनसम्म आफ्ना पूजा कोठामा दुर्गा पूजा गरि किस्तीमा जमरा समेत राख्न भ्याए । बिभिन्न राज्यहरुमा पायक पर्ने मन्दिरमा गएर जमरा समेत ल्याई टीका र जमरा लगाई दिए।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै अभिभावक तथा मान्यजनका घर गै निधारमा टिका ग्रहण गरे। जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो।

अमेरिकामा यसरी मनाईयो दशै…। फोटोः विजय थापा

Posted by HKNepal.com on Wednesday, 12 October 2016

.

अमेरिकामा दशैको दिनमा सेलरोटी ,मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार तथा नेपालबाट ल्याईएका चिउरा आदि ईत्यादि समेत आफू ,परिवार तथा अतिथिहरुलाई खुवाए।

अधिकांश पुरुषले नेपाली पोशाक दौरा ,सुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका फरिया तथा पहेलो धातुका गहनामा पहेलपुर भएर सजिएका देखिन्थे।

यसको साथै अमेरिकामा जन्मिएका बालबालिकाहरु त्यतिकै खुशी देखिन्थे भने उनीहरुलाई टिका जमरा र सौगत स्वरुप पैसा दिदा दंग परेका देखिन्थे।

यसको साथै कयौ राज्यहरुमा ताससम्म खेलेका तस्बिरहरु देखिन्थे भने जित र हारको भन्दा पनि पारिवारिक जमघटमा मनोरंजन गर्न खेलेको बताए।

अमेरिकामा पनि नेपाली समुदायले हजुरबा हजुरआमा, मातापिता ,पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी मान्यजनहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिए।





Comments

comments

Leave a Reply

14611