Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लेखनाथमा अझै गुन्डाराज, चिनेकै साथीले खुकुरीले हानेपछि…

भाइटीकाको भोलिपल्ट लक्की पुनले खुकुरी हान्दा घाइते लेखनाथ भण्डारढिकका मुकेश गुरुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा । तस्बिर ः अर्जुन गिरी

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, २१ कात्तिक। कास्कीमा गुन्डागर्दी निर्मुल भयो भनेर तत्कालीन एसपी रमेश खरेलले सार्वजनिक समारोहमा भनेका थिए । हुन पनि २०६६/६७ तिर खरेलले टोले गुन्डाको सातो खाएका थिए । खरेलकै कारण त्यसबेला केही सुध्रिए भने केही विदेश पलायन भए । तर अहिले पनि लेखनाथ नगरमा भने बेला–बेलामा टोले गुन्डाहर्कत देखाइरहन्छन््।

गत वर्ष लेखनाथमा दुईजना व्यक्तिमाथि खुकुरी प्रहार गरेर हङ्गामा मच्चाएका थिए अभिषेक सुनारले । त्यतिमात्र होइन धेरैलाई धम्काउने र कुट्ने गरेको भन्दै अभिषकविरुद्ध उजुरी पर्दा समेत राजनीतिक आड लिएर उम्किएपछि स्थानीय त्रसित भएका थिए।

इलाका प्रहरी कार्यालय सिसुवाले त्यतिखेर त्यो घटनालाई थमथम्याएर साम्य बनाएको आरोप लागेको थियो । त्यही भएर पनि होला कास्की प्रहरीका तत्कालीन प्रमुख हरिबहादुर पालले जिल्लाबाटै प्रहरी खटाएर अभिषेकलाई पक्रे । प्रहरीले अभिषेकलाई ब्राउन सुगरसहित पक्रेर कानुनी दायरामा ल्याएका थियो । गुन्डागर्दीको वृत्तमा अफगानिस्तान भनेर चिनिने लेखनाथमा अझै पनि कुटपिट र धम्कीका घटना गुपचुप मिलाउने चलन छ । त्यो पनि पीडितलाई रिजाएर होइन, धम्काएर।

हालै लेखनाथमा घटेको खुकुरी काण्डभएको छ । तर, त्यो पनि गुपचुपै छ। घटना भाइटीकाको भोलिपल्टको हो । लेखनाथ–१ भण्डारढिकका मुकेश लामिछाने गुरुङमाथि लक्की पुनले खुकुरी हाने । कात्तिक १७ गते राति गुरुङमाथि खुकुरी हानेका पुन फरार छन्। राति१० बजेतिर मुकेश केही साथीहरुसँग भण्डारढिक घर नजिकै भैलो खेलेको हेर्दै थिए ।त्यही बेला लक्की पुन र उनका साथीहरु होहल्ला गर्दै बाइकमा आए । त्यत्तिकैमा मुकेशले ‘किन यसरी बाइक कुदाएको भाइबहिनीहरु भैलो खेलेको देखेनौ?’ भने । एउटैभेगका मुकेश र लक्कीबीच चिनजान समेत थियो। रक्सीले मात्तिएका लक्कीले अपशब्द प्रयोग गर्दै ‘मलाई रोक्ने तँ को होस्?’ बखेडा झिके।

त्यो संवादले ठूलो रुप नलियोस् भनेर स्थानीयले उनीहरुलाई छुट्याए । तर लक्की जंगिँदै घर गईखुकुरी लिएर आए । मुकेश त्यही ठाउँमा भैलो हेर्दै थिए । त्यत्तिकैमा लक्की आएर सोझै एक हातको खुकुरीले मुकेशको घाँटीमा ताकिहाले । मुकेशले हातले छेके । तर उनको देब्रे हातमा खुकुरीले लाग्यो । उनी भुइँमा लडे । नाकमा चोट लाग्यो । लक्कीले फेरि हान्न खोज्दै थिए तर स्थानीयले जोगाए । लक्की त्यहाँबाट भागे ।

रगत्ताम्मे मुकेशलाई उपचार गर्न नजिकैको मेडिकल पुर्याइयो तर राति अबेर भएका कारण मेडिकल खुलेन । त्यसपछि मुकेशलाई अरु २ जनाले मोटरसाइकलको बीचमा राखेर सामुदायिक अस्पताल पुर्याए । हातको अवस्था देखेपछि डाक्टरले त्यहाँ उपचार नहुने बताए । त्यसपछि मुकेशलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पुर्याइयो । मुकेशको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

दोषीलाई कडा कारवाहीको माग राख्दै मुकेशका दाइ डम्बरबहादुर गुरुङले इलाका प्रहरी कार्यालय सिसुवामा उजुरी दिएका छन् ।चिनजानको साथी भएर पनि सामान्य कुरामै लक्कीले आफूलाई खुकुरी प्रहार गरेको मुकेशले बताए । ‘यसअघि पनि यसरीनै झगडा गर्दै हिँड्थ्यो,’ उनले भने, ‘दाइको आड पाएको हुनाले आफ्नो मनपरी गर्दै हिँड्छ ।’ सामान्य भनाभनलाई लिएर गुन्डा पारा देखाएको उनले बताए । ‘अब कसरी काम गरेर खाने?,’ उनले हात देखाउँदै भने, ‘त्यो फरार छ, लक्कीको दाइ विष्णुले हिजो १५ हजार दिएर गएको छ ।’ लक्कीलाई छिट्टै पक्रेर कारबाही गर्नुपर्ने उनको माग छ।

लक्की पुन यसअघि पनि धेरै घटनामा संलग्न भएकोप्रहरी स्रोत बताउँछ । लेखनाथको ‘८७ रोपनी जग्गा काण्ड’मा पनि लक्कीको नाम मुछिएको थियो । केही वर्षअघि उनले एक युवतीमाथि दुर्व्यवहार गरेको घटनाले पनि उनलाई विवादमा तानेको थियो । दोहोरीमा गएर झगडा गर्ने, स्थानीयलाई थर्काउने लक्कीका लागि सामान्य रहेको प्रहरी स्रोतले बतायो । लक्की ४ वर्षअघि प्लटिङ व्यवसायमा छिरेकोस्रोतले बतायो। ‘त्यसबेला लेखनाथको केही नाम चलेका टोले गुन्डासँग उसको उठबस थियो,’ स्रोतले भन्यो, ‘अहिले ऊ आफंै नाइके बन्यो ।’ खुकुरी हानेको घटनाबारे उजुरी परेको इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख मदनजित महराले जानकारी दिए । ‘घटनाको अनुसन्धान हुँदैछ,’ उनले भने, ‘गल्ती गर्नेलाई कुनै हालतमा छाडिँदैन, कानुनको दायरामा ल्याउँछांै ।’

‘कडा इन्स्पेक्टर चाहिन्छ’

कुनै बेला लेखनाथमा नाम चलेका टोले गुन्डा यति बेला थन्किएका छन् । तर तिनीहरुकै औंला समातेर हिँडेका केही युवा भने यति बेला सक्रिय हुन थालेको स्थानीय बताउँछन् । लेखनाथमा जब प्लटिङ सुरु भयो, त्यहाँबाट टोले गुन्डापनि सल्बलाउन थाले । २०६७ सालतिर लेखनाथमा जग्गा व्यवसाय फस्टायो । त्यसपछि त्यहाँ टोले गुन्डाको चलखेल बढ्न थाल्यो । एकातर्फ टोले गुन्डा सल्बलाउनु र अर्कोतर्फ लेखनाथ हेर्ने जिम्मा पाएका प्रहरी प्रमुख इन्स्पेक्टर कडा नहुँदा दण्डहीनता मौलायो । अझैपनि समस्या जस्ताको तस्तै रहेको स्थानीय बताउँछन् । ‘नेताहरुको फोन आएपछि घटना मिलिहाल्छ,’ स्रोतले भन्यो, ‘टोलेलाई सुधार्न कडा इन्स्पेक्टर चाहिन्छ।’

‘भर्खरै गुन्डागर्दी सुरु गरेका टोलेलाई तहलाउन नसके ठूलो रुप लिनेछ,’ स्रोतले भने, ‘लेखनाथले नयाँ इन्स्पेक्टर पाएको छ हेरम् कस्तो गर्छन् !’अहिले लेखनाथले नयाँ इन्स्पेक्टर पाएको छ । पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवलबाट सरुवा भएर कात्तिक १४ गते मदनजित महरा लेखनाथ आएका हुन् । शान्ति सुरक्षा कायम राख्न कुनै पनि कमीकमजोरी नरहने महराले बताए । ‘बल्ल आएको छु, धेरै कुरा बुझ्न बाँकी छ, शान्ति सुरक्षामा कुनै कमी रहँदैन,’ उनले भने, ‘जहाँसम्म गुन्डागर्दीको कुरा छ, त्यसलाई त म प्रथामिकतामै राखेर कारबाही अघि बढाउँछु ।’





Comments

comments

Leave a Reply

14885