गत २ कात्तिकमा विराटनगरका मुरारी चापागार्इंको धानबारीमा एक युवकको शव भेटियो । शव गन्हाइसकेको थियो । हातमा ट्याटु थियो, जसमा लेखिएको थियो– अंकित ।
त्यो शव तिनै अंकित दाहालको थियो, जो हराएको भन्दै चार दिनअघि उनका बुबाआमाले प्रहरीमा निवेदन दिएका थिए । मोर्डन कलेजमा १२ कक्षामा पढ्ने उनको शव घाँटी रेटिएको र हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । शवको प्रकृति हेर्दा उनको हत्या भएको स्पष्ट थियो ।
दसैँ भर्खरै सकिएको थियो । ठूलोबुबाको घरमा टीका लगाएर उनी निस्किएका थिए । खाना पनि नखाई उनी हतार–हतार साथी भेट्न निस्किए । आफ्ना प्रिय साथीहरू भेट्न निस्किएका उनी तिनै साथीबाट मारिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दीप भण्डारीका अनुसार लागुऔषधका कारण उनको ज्यान गएको थियो । अंकित लागुऔषध सेवन गर्थे । उनी आफैैँ लागुऔषध किन्न जोगबनी जाने गर्दथे । साथीहरूसँग समेत पैसा लिएर उनी लागुऔषध खरिद गरेर ल्याउँथे । धेरै पैसा लिएर थोरै मात्र लागुऔषध दिने गरेकाले टाइली भन्ने फूलकुमारी उरावसँग उनको झगडा हुँदै आएको थियो । अंकित पनि झगडालु थिए ।
त्यो दिन अंकितको हत्या गर्ने योजनासहित टाइलीले पाँचजना साथीलाई बोलाएकी थिइन् । उनले अंकितलाई भेट्नेबित्तिकै लागुऔषध खान भनेर एकान्तमा लगिन् । त्यहीँ दुईजनाबीच कुटाकुट भयो । अन्य चारजना आएर उनलाई थप कुटपिट गरे । हातखुट्टा बाँधेर मुख छोपिदिए । त्यसपछि एकान्तमा लगेर टाइलीले नै उनलाई चक्कुले घाँटीमा रेटेकी थिइन् ।
अर्का युवराज भन्नेले पेटमा खुकरीले हानेका थिए । हत्यापछि धानखेतमा लगेर शव फालेका थिए । शव फेला परेको भोलिपल्ट उनीहरू सबैलाई पक्राउ गर्न सफल भएको एसपी भण्डारीले बताए । प्रहरीले हत्यामा संलग्न टाइलीसहित टिम्बा भन्ने सुकेदव उराव, डाइलर भन्ने युवराज परियार, हन्टर भन्ने सार्जन खरेल र सुरज उरावलाई पक्राउ गरेको हो । उनीहरूलाई २९ कात्तिकमा अदालतले जेल चलान गरेको अनुसन्धान अधिकृत इन्स्पेक्टर गणेश सापकोटाले बताए ।
पक्राउ परेका सबैजना लागुऔषध दुव्र्यसनी हुन् । टाइली र टिम्बा तीन महिनाअघि मात्र चोरी मुद्दामा पक्राउ परेर धरौटीमा छुटेको एसपी भण्डारीले बताए । ‘लागुऔषधकै कारण यो हत्या भएको हो,’ एसपी भण्डारी भन्छन्, ‘युवावर्गमा लागुऔषधको ठूलो समस्या छ ।’ लागुऔषधको समस्या बढेपछि प्रहरीले केही महिनायता लागुऔषध नियन्त्रण टोली नै गठन गरेको खबर नवराज मैनालीले नयाँपत्रिका दैनिकमा लेखेका छन्।