Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रियलाई चिठी (लघुनिबन्ध) – नरेन्द्रराज प्रसाई

प्रियलाई चिठी
(लघुनिबन्ध)

नरेन्द्रराज प्रसाई –

मेरी प्रिय;
मान्छेको शक्ति कति तेजिलो हुन्छ नि !
शक्ति = काम ‌+ खुबी !
अथवा भनौं श्रमजीवी, पौरखी र उपकारी मान्छे उपर ईर्स्यालु, कपटी, लोभी, पापी, अल्छी, उल्का र अयोग्य मान्छे कति जल्छन्, कति गल्छन् र कति तलसम्म पनि खस्छन् ! अन्त्यमा उनीहरू मरिचैसम्म पनि भई दिन्छन्। संसारमा यसको ओखती भए म यही पेसामा आबद्ध हुन्थें र ती डाहाका भण्डारीलाई निश्शुल्क ओखती पनि गरिदिन्थें। तर यो मेरो सोच यसबारे सम्भव नहुने नै रैछ। अनि यो एउटा विब्ल्याटो प्रकृति नभए तिमी पनि शायद यसरी उभिन सक्तिनथ्यौ होला!

तिम्रो अस्तित्व कति रहेछ त ? यदि तिमी लाछी भए तिमीलाई कसले गन्ने थियो ? जब तिम्रा विरोधमा भुसको धुवाँ देखियो या लिखितम र बखितमको भाइरल हुन थाल्यो त्यो नै तिम्रो अस्तित्व निर्माण भएको सग्लो प्रमाण हो। अथवा भनौं तिम्रा पछाडि शत्रुको थुप्रो लाग्न थाल्यो भने बुझ्नु “तिम्रो योगदान समाज, राष्ट्र र त्योभन्दा पनि परसम्म पुगिसकेको रहेछ।” शत्रुहरु मार्फतै म जानकारी सङ्ग्रह गरिरहेछु “तिमीभित्र केही छ, धेरै छ र अझै धेरै छ; मेरी पुरोधिका!”

तिमी के हौ, तिमी को हौ र तिमी किन हौ भन्ने कुरा तिमी र मलाई के थाहा ! यो बेहोराको तथ्याङ्क शत्रुसँग मात्र हुँदोरहेछ। अनि ती रित्ता गाग्रीहरू तिमी उपरको नारामा छछल्किरहने गर्छन् र त्यसको हल्ला तिम्रा कानसम्म पनि आइपुग्छ। जसको काम गर्ने खूबी हुँदैन प्रकृतिले उसका लागि अरूको निन्दा गर्ने कर्मको निर्माण गरिदिएको हुन्छ। उनीहरूको मुख्य उद्धेश्य नै बलियालाई सराप्ने, गाली गर्ने र धारेहात लगाउने मात्र हुन्छ। त्यसैले निर्धाको विरोध भएको तिमीले कतै सुनेकीछ्यौ र ?

जो शक्तिशाली छ उसैको आलोचना हुन्छ। फलले लत्रेको रूखमा न ढुङ्गा प्रहार हुन्छ ! चिलाउनेको बोटलाई कसले पो झम्टिन्छ र !

मेरी पुरोधिका!
तिमी कति गतिलीछ्यौ भन्नेको प्रमाण तिम्रा शत्रुको जनसङ्ख्यामा भर पर्छ। त्यसैले मलाई तिमीसँग गौरवी अनुभूत भैरहन्छ । किनभने तिमीमा सशक्त खुबी छ।

तिमी अघिअघि हिँड, तिम्रा पछिपछि म आइरहेको हुनेछु; मेरी प्रिय !

तिमीलाई माया गर्ने तिम्रो
(नरेन्द्रराज प्रसाई)

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)





Comments

comments

Leave a Reply

15746