दरबार छाडे पनि जिम्मेवारी छाडेको छैन : ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारबाट बाहिरिए पनि जनताप्रतिको जिम्मेवारीबाट पछि नहटेको बताएका छन् । उनले राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान पनि गरेका छन् ।

२९५औँ पृथ्वीजयन्तीका अवसरमा मंगलबार सन्देश दिँदै पूर्वराजा शाहले दलहरूको नाम उल्लेख नगरी सार्वभौमसत्ता कमजोर पारेको, भौगोलिक अखण्डतामाथि प्रहार गरेको आरोपसमेत लगाएका छन् । उनी हाल थाइल्यान्डको राजधानी बैंककमा छन् ।

‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तात्कालिक परिस्थितिसमेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौँ, तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौँ र गर्ने पनि छैनौँ,’ सञ्चार सहयोगी डा. फणीराज पाठकद्वारा मंगलबार जारी पूर्वराजाको सन्देशमा भनिएको छ, ‘नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।’
….
….
पूर्वराजाले नाम उल्लेख नगरी दलहरूले देशलाई कमजोर तुल्याएको, अखण्डतामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । ‘चार वर्र्ण छत्तीस जातको साझा फूलबारीका रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो–जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपालीविरुद्ध अक्षम्य अपराध गरेका छन्,’ पूर्वराजाको सन्देशमा भनिएको छ ।

नेपाल नबच्ने चिन्ता
पूर्वराजा शाहले आफूले दरबार छाडेको एक दशकमै देश बच्ने हो कि होइन भन्ने चिन्ता उत्पन्न भएको बताएका छन् । ‘दशक नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौँ,’ उनले भनेका छन्, ‘देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।’

उनले स्थिर, शान्त र समृद्ध नेपाल निर्माणका लागि गोलबद्ध हुन आह्वान गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन सबैलाई राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन उनले आह्वान गरेका छन्। नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

15857