पूर्व अर्थमन्त्री डा.महतमाथि आक्रमण प्रयास, ४७ राउन्ड गोली चल्यो

नुवाकोट, १३ माघ । नुवाकोटको खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ।

पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए । झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन् । डा महत सहभागी जागरणसभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए।

प्रहरीले पहिला लाठीचार्ज गरेको थियो । तर, भीड नियन्त्रण नभएपछि गोली चलाएको उनले बताए । तीनजनालाई रबरको गोली लागेको छ । लाठी प्रहारबाट अरू तीनजना घाइते छन्।

सशस्त्र प्रहरीका एकजना पनि घाइते भएको प्रहरीले जनाएको छ । रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते छन्।

यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ कानवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते छन् । जिल्ला प्राविधिक समितिले सिफारिस गरेको लिखु गाउँपालिका बदर गरिएपछि २ माघबाटै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

प्रस्तावित सो गाउँपालिकामा पर्ने खानीगाउँ, थानसिंह, सूर्यमति र चौघडा गाविस ११ दिनदेखि बन्द गरी स्थानीय आन्दोलनमा उत्रिएका छन्।

बन्द खुलाउन भन्दै डा महत जागरणसभा गर्न सो स्थान पुगेका थिए । सय जनाभन्दा बढी सुरक्षाकर्मीका साथ पुगेका डा महतविरुद्ध चर्को नाराबाजी भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

कडा सुरक्षा घेरामा डा महतले सभालाई सम्बोधन गरेका थिए । उनले बन्द गरेर स्थानीयलाई दुःख दिन नहुने बताए।

पुनर्संरचना आयोगले सरकारलाई बुझाएअनुसार नै सीमांकन हुनुपर्ने उनको भनाइ छ । चारै गाविसका आन्दोलनकारीले गत ७ माघमा विदुरमा जिविसको कार्यालय तोडफोड गरेका थिए।

जिल्लाको पूर्वी भेगलाई जोड्ने सडक यिनै गाविस हुँदै गएकाले ११ दिनदेखि बन्द हुँदा पूर्वी भेगका स्थानीय समस्यामा परेका छन्।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

16035