लालसादेवीले किन चोरिन् अस्पतालबाट नवजात शिशु…?

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट हराएको नवजात शिशुलाई प्रहरीले ४८ घन्टाभित्र फेला पारेको छ। गत शुक्रबार हराएको शिशुलाई प्रहरीले आइतबार दिउँसो १ बजे बेल्वा गाविस–९ स्थित बिन्देश्वर साह कानूको घरमा फेला पारी उद्धार गरेको खबर नयाँपत्रिका दैनिकले छापेको छ। प्रहरीका अनुसार बिन्देश्वरकी छोरी लालसादेवीले अस्पतालबाट नवजात बालक चोरेकी थिइन्।

पर्सा भिष्वा घर भई हाल माइती बस्दै आएकी २२ वर्षीया लालसाले आफ्नो छोराछोरी नभएकाले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पाँच वर्षअघि विवाह भए पनि उनको अहिलेसम्म सन्तान छैन । छोराछोरी नभएपछि माइत बसेर उनले नवजात शिशु चोर्ने योजना बनाएको प्रहरीको भनाइ छ । उनले एक महिनादेखि अस्पताल गई मौका हेरिरहेको र शिशुलाई खेलाउने बहानामा चोरेको प्रहरीले जनाएको छ । प्रहरीले लालसालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक अभियोगमा छानबिन अघि बढाएको छ।

मध्यक्षेत्रीय प्रहरी निर्देशनालयका नायव प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले छानबिन चलिरहेकाले अहिले नै सबै कुरा नमिल्ने बताए । अस्पतालको पनि लापरबाही देखिएको उनको भनाइ छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले अस्पताल क्षेत्र संवेदनशील बन्दै गएकाले सुरक्षा व्यवस्था बढाउने जानकारी दिए।





Comments

comments

Leave a Reply

16139