पुर्ननिर्माणमा जुट्यो पोखरा विश्वविद्यालय, एक हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा जाँदै…

सुबास मल्ल / एचकेनेपाल डट कम –
पोखरा। देशभरका सिभिल इञ्जीनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई पुर्ननिर्माणमा खटाउने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको निर्णय अनुसार पोखरा विश्वविद्यालयले एक हजार सत्ताइस जना विद्यार्थीहरुलाई पुर्ननिर्माण अभियानमा खटाएको छ।

विश्वविद्यालय अन्तर्गत देशभरका सिभिल इञ्जीनियरिङ्ग, सिभिल एण्ड रुलर इञ्जीनियरिङ्ग र आर्किटेक्चर इञ्जीनियरिङ्ग अध्यापन गराइरहेका १२ वटा कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट उनीहरुलाई छनौट गरिएको विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले बताए।

छनौट भएका विद्यार्थीहरुको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको सोमबार उद्घाटन गर्दै प्राधिकरणका सिइओ प्राध्यापक डाक्टर गोविन्द पोख्रेलले राष्ट्र निर्माणको यो घडीलाई अवसरका रुपमा उपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरे । काठमाडौंमा रहेको विश्वविद्यालयको आंगिक कलेज युनिभर्सल साइन्स कलजेमा विद्यार्थीहरुलाई एक हप्ता लामो प्रशिक्षण दिइने छ । त्यसैगरी सोही बमोजिम प्रशिक्षण कार्यक्रमहरु हरेक कलेजहरुले मंगलबारबाट क्रमशः शुरु गर्नेछन् । त्यसपछि विद्यार्थीहरु भुकम्प अति प्रभावित तेह्र जिल्लाहरुमा एक महिनाका लागि फाल्गुण २ गतेबाट पठाइने विश्वविद्यालय स्रोतले बतायो।

प्राधिकरणको आग्रह बमोजिम नेपालमा पहिलो पटक पोखरा विश्वविद्यालयले विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा खटाएको र निकट भविष्यमा नै अरु विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि खटाइने सरकारको तयारी रहेको छ । अभियानलाई सहयोग गर्न विश्वविद्यालयहरुले तत्परता देखाएको र पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवि शर्मा, रजिष्ट्रार डाक्टर गोविन्द शर्मा र परीक्षा नियन्त्रक डा. भरतराम ढुंगानाको तत्परताले नै पोखरा विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई सर्वप्रथम खटाउन सफल भएको डिन जोशीले जानकारी दिए।





Comments

comments

Leave a Reply

16160