Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा खर्च २ करोड ?

काठमाडौं, ८ असोज। प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएको टोलीको खर्चका लागि सरकारले झन्डै दुई करोड रुपैयाँ निकासा गरेको छ। संसारकै गरिब र मितव्ययी प्रधानमन्त्री भनेर कमाएको चर्चा सेलाउन नपाउँदै कोइराला २२ सदस्यीय टोली लिएर न्युयोर्क पुगेका हुन्।

मन्त्रिपरिषद् बैठकले भदौ २६ गते गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले भ्रमण दलका लागि एक करोड ९० लाख २४ हजार ६ सय २२ रुपैयाँ निकासा गरेको समाचार आजको अन्‍नपूर्ण पोष्टमा छापिएको छ। भ्रमणका क्रममा योभन्दा बढी खर्च हुनसक्ने स्रोतले बतायो।

भ्रमण दलमा प्रधानमन्त्री कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कामुसचिव शंकरदास बैरागीसहित काठमाडौंबाट १६ जना गएका छन्। न्युयोर्कस्थित नियोगका ६ जना पनि टोलीमा सहभागी छन्।

कोइराला प्रधानमन्त्री भएलगत्तै गत फागुनमा म्यानमारमा आयोजित बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन ‘इकोनोमी क्लास’ कै हवाई टिकटमा जाने भनेपछि ठूलो चर्चा पाएको थियो। त्यसपछि अमेरिकी पत्रिका द वासिङ्टन पोस्ट, बेलायती सञ्चारमाध्यम बीबीसीलगायतले समेत संसारकै सबैभन्दा मितव्ययी र गरिब प्रधानमन्त्री भन्दै कोइरालाको प्रशंसा गरेका थिए।

सम्पत्ति विवरणमा तीनवटा मोबाइल सेटमात्र सार्वजनिक भएपछि उनलाई संसारकै सबैभन्दा गरिब राजनेता उरुग्वेका राष्ट्रपति जोसे मोजिकासँग तुलना गर्दै उनको स्थान कोइरालाले लिनसक्नेसम्मको चर्चा गरिएको थियो। त्यसको ६ महिना नपुग्दै उनै प्रधानमन्त्रीको एउटा विदेश भ्रमणको खर्च दुई करोड हाराहारी पुगेको छ।





Comments

comments

1674