मजदुरदेखि सेलिब्रेटीसम्मका यौनकर्मी…

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, २८ फागुन। रेष्टुरेन्टमा यौन व्यवसाय, होटलमा यौन व्यवसाय । यो त जोकोहीले देखेकै हुन् । तर होटल, रेष्टुरेन्टमा वेटरको भेषमा देखिएर यौन व्यवसाय चलाउनेहरुमात्रै हुन्छन् भन्नु पूर्ण सत्य हुँदैन । मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यो व्यवसायमा थरीथरीका व्यक्ति संलग्न छन् । तर प्रहरीले यो व्यवसाय नियन्त्रणका नाममा रेस्टुरेन्ट र होटलबाट मात्रै पक्राउ गर्ने हुँदा त्यहाँ मात्रै यो धन्दा चल्छ जस्तो देखिन्छ जुन पूर्ण सत्य होइन । प्रहरी अनुसन्धान, स्वयं यौनकर्मी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सर्वसाधारण, ट्याक्सी चालक र सामाजिक अनुसन्धाताहरुसँग कुराकानी गर्दा के निष्कर्ष निस्कन्छ भने सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी र सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न छन् । पत्रकार अर्जुन गिरीले संकलन गरेको सूचना अनुसार पोखरामा भेटिएका थरीथरीका यौन व्यवसायीः

१. रेष्टुरेन्ट गर्ल
यस प्रकारका युवती सजिलै पाइन्छ । केही रेस्टुरेन्टमा पर्दा मात्र हुन्छ र खानेकुराको नाममा पेय पदार्थ मात्र हुन्छ । पोखरामा विशेष गरी बागलुङ बसपार्क क्षेत्रमा केही वर्षअघि रेस्टुरेन्ट गर्ल सजिलै भेटिन्थे, जो यौनकर्ममा संलग्न थिए ।

२०७०÷७१ तत्कालीन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्तकुमार लामाले बागलुङ बसपार्कमा दिन रात सिआरभी भ्यान खटाएपछि यस प्रकारका यौन व्यवसायी अर्थात् रेस्टुरेन्ट गर्लको पेसा चौपट भयो । तर पेसा छाडेनन्, बरु ठाउँ परिवार्तन गरे । उल्टो उनीहरुको माग बढ्न थाल्यो, कमाइ राम्रो हुन थाल्यो ।

अहिले यिनीहरुको मुख्य क्षेत्र भनेको बागलुङ बसपार्क, बगालेटोल, जाल्पारोड, सिर्जनाचोक, नागढुंगा, पृथ्वीचोक हो । यिनीहरुको अवश्यकता भनेकै पैसा मात्र हो । रेस्टुरेन्ट गर्लले एकपटक यौन सम्पर्क गरेको ५ सयदेखि एक हजार रुपैयाँसम्म लिन्छन् । एक रातको नेपालीलाई २ हजारदेखि ३ हजार रुपैयाँसम्म र विदेशीलाई ५ हजार रुपैयाँसम्म रकम लिने गरेको पाइन्छ । विदेशीमा पनि विशेष गरी इन्डियनबाहेक अरुको रोजाइमा रेस्टुरेन्ट गर्ल कमै पर्छन् । रेस्टुरेन्ट गर्ल प्राय आफंै घर भाडा लिएर बस्दैनन् ।

त्यसरी बस्दा ग्राहकको काम र प्रहरीबाट असुरक्षित हुने हुँदा यिनीहरु रेस्टुरेन्ट र प्राय ट्याक्सी चालककोमा आश्रय लिएर बस्छन् । अहिले पोखरामा केही ट्याक्सी चालकले रेस्टुरेन्ट गर्ल ल्याउने लाने दलालको रुपमा काम गरेको पाइन्छ । केहीले त आफ्नो परिवारसँगै आफन्त जसरी युवती राखेर होम डेलिभरी पनि गरेको प्रहरीले पटकपटक फेला पारेको छ ।

रेस्टुरेन्ट गर्ल एउटा सहरमा एक दुई वर्षभन्दा धेरै बस्दैनन् । नयाँ ठाउँमा जाँदा यिनीहरुको मागसँगै रकम पनि बढ्ने गरेको पाइन्छ । एउटै सहरमा बस्दा माग र रकम कम हुने र प्रहरीको आँखामा पर्ने डरले यिनीहरु ठाउँ परिवार्तन गर्न बाध्य हुन्छ । कुनै ठाउँमा जानुअघि यिनीहरु आश्रय लिने रेस्टुरेन्टका साहुले सेटिङ मिलाइदिएका हुन्छन् ।

रेस्टुरेन्ट साहुको ग्राहक बाहेक प्रहरीसँग पनि उत्तिकै राम्रो सम्बन्ध हुन्छ । प्रहरीलाई आवश्यक पर्दा पैसा, खानपान र युवती समेत मिलाउन पछि पर्दैनन् यिनीहरु । माथ्लो दर्जाका प्रहरीलाई पैसा मात्र भए पुग्छ भने तल्लो दर्जाका प्रहरीलाई खानपान र युवती भए पुग्छ भन्छन् यौनकर्मी ।

२. कल गर्ल
फोन सम्पर्कबाट सजिलै आउने युवती हुन् कलगर्ल । कतै पार्टी भयो भने व्यवसायीहरु यस्ता प्रकारका युवतीलाई बोलाउँछन् । यिनीहरु पार्टीमा आउने नाचगान गर्ने अनि जसले बोलाएको हो, उनीहरुलाई राति कम्प्यानी दिने भन्दै यौन चाहना पूरा गरिदिन जान्छन् । यिनीहरु आफूलाई मोर्डन टाइपको युवती भन्न रुचाउँछन् ।

यौन व्यवसायी भन्दा नराम्रो सुनिने भएकाले उनीहरु आफूलाई ‘कम्प्यानी गर्ल’ भन्न राम्रो मान्छन् । यिनीहरु प्राय आफ्नै उमेर समूहका व्यवसायी र उनीहरुका छोराहरुसँग हिँड्न रुचाउँछन् । यिनीहरु र ग्राहकबीच दोहोरो समझदारी हुन्छ । जब ग्राहकलाई आवश्यक पर्छ यिनीहरुलाई बोलाउँछन्। यिनीहरुलाई यौन चाहना र रकमको आवश्यक पर्छ तब यिनीहरु आफै ग्राहक बोलाउँछन् पनि । प्राय यिनीहरु गु्रपमा हिँड्न रुचाउँछन् ।
यिनीहरुको रेट यति उति भनेर तोकिएको हँुदैन । यिनीहरुको उद्देश्य भनेकै भरपर्दो ग्राहक बनाउने हो । यिनीहरुलाई एक रात कम्प्यानी दिए बापत ग्राहकले सपिङ गर भनेर ५ देखि १० हजार रुपैयाँ दिन्छन्। चिनजानकै ग्राहक र ग्राहककै स्तरको साथीहरुसँग मात्र उनीहरु हिँड्न मन पराउँछन् । यिनीहरु रात बिताउन राम्रै होटल रोज्छन् ।

कर्ल गर्लहरु जस्तो पायो त्यस्तो होटलमा नजाने बरु गाडीमै रात बिताउन तयार हुने गरेको एक पोखरा व्यवसायीले नाम नभन्ने सर्तमा बताए । ‘यिनीहरु त्यस्तो तल्लो लेभलको यौन व्यवसायीहरु जस्तो हँुदैनन्,’ उनले भने, ‘काम त त्यही हो तर अलि स्ट्यान्डर्ड मेन्टेन गर्छन् । ’केही कर्ल गर्लले हैरान पारेको पीडा ती व्यवसायीले सुनाए । ‘कहिले काहिँ घरमा परिवारसँग भएको बेला राति रक्सीले मातेर फोन हान्छन्,’ उनले भने, ‘यही आदत यिनीहरुको ठिक हुन्न नत्र निकै सेफ हुन्छ ।’ यस्ता युवतीहरु प्राय सांगीतिक कार्यक्रममा जान्छन् । प्रहरीसँग बचेर विशेष गरी सामान्य व्यवसायीका छोराहरुलाई टार्गेट गर्छन् ।

प्रहरी र समाजबाट जोगिन यिनीहरु प्राय आफ्नै उमेर समूहकासँग विशेष गरी सहर बाहिर ग्रुपमा जान चाहन्छन् । यिनीहरु प्राय कमै मात्र प्रहरीको फन्दामा परेको एक व्यवसायीले बताए । कर्ल गर्लमा प्राय कास्की जिल्ला बाहिरकै तर पोखरामा परिवारसँग डेरा गरी बसेका युवतीहरु रहेको व्यवसायी बताउँछन् । यिनीहरु प्राय १९ देखि ३० वर्ष उमेर समूहका रहेको स्रोतले बतायो ।

३. कलेज गर्ल
यिनीहरु विद्यार्थी पनि भएकाले ‘कलेज गर्ल’ भनेर नाम दिइएको भुक्तभोगीहरु बताउँछन् । कलेज गर्लमा प्राय जिल्ला बाहिरबाट आएका विद्यार्थीहरु संलग्न छन् । यसमा विशेष गरी ब्याचलर लेभलका विद्यार्थी छन् । उनीहरु पनि कल गर्ल जस्तै एक्लै हिँड्दैनन् । यिनीहरुको माग पोखरामा निकै छ ।

रेस्टुरेन्ट गर्ल र कल गर्लको तुलनामा यिनीहरुलाई भेटाउन निकै गाह्रो रहेको एक व्यवसायी बताउँछन् । रेस्टुरेन्ट र कल गर्लको ग्राहक विद्यार्थीहरु पनि उत्तिकै हुन्छन् । आफ्नो बारेमा थाहा हुन्छ भन्ने डरले कलेज गर्लले विद्यार्थीलाई आफ्नो ग्राहक बनाउँदैनन् । यिनीहरुको सेटिङ आफैआफैले मात्र मिलाउँछन् । कमैलाई थाहा हुन्छ यिनीहरुको बारेमा ।

यस प्रकारको यौन व्यवसायमा लागेका युवतीले ग्राहकको उमेर समूह हेर्दैनन् । हेर्छन् त मात्र पैसा । एक रातको १० हजारदेखि २० हजार रुपैयाँसम्म क्यास लिन्छन् । यिनीहरु पहिला ग्राहकको जानकारी लिन्छन्, विश्वास भएपछि मात्र पैसा लिन्छन् अनि मात्र जान्छन् । यिनीहरु वचनको निकै पक्का हुन्छन् । यिनीहरु ग्राहकसँग होटलमा जान प्राय मान्दैनन् । कि आफ्नो डेरामा या ग्राहककै घरमा जान्छन् । प्राय डेरामा बस्ने यिनीहरुको ग्राहक हँुदैन, यिनीहरु त्यो लेभलकोलाई पत्याउँदैनन् । ग्राहकको घरमा जान प¥यो भने कि गाडीमा नत्र आफ्नै स्कुटरमा जान्छन् ।
देख्दा सुन्दर अनि मेकअपमा धेरै खर्च गर्ने हुँदा यिनीहरुको माग र मूल्य बढी भएको प्रहरी बताउँछन् । यिनीहरु समयमा नियम बनाएर चल्छन् । बेलुका आउने जाने टाइम यिनीहरुकै हुन्छ । बिदा नपरेको दिन स्कुटरमा क्याम्पसको टे«स लिएर राति ७–८ बजे ग्राहककोमा पुग्छन् अनि बिहान साढे ५ बजेभित्रमा निक्लिन्छन् । एक रातमा ३ पटकभन्दा बढी यौन सम्पर्क गरेको अलग्गै चार्ज लिन्छन् । यिनीहरु निकै कठोर मनको हुने गरेको ग्राहक बताउँछन् ।

४. होटल गर्ल
यस प्रकारको यौन व्यवसायीमा प्राय होटलमा काम गर्ने युवतीहरु पर्छन् । यिनीहरु विशेष गरी लेकसाइडमा भेटिन्छ । राम्रो होटलमा काम गर्ने अनि राति राम्रो रेस्टुरेन्ट र कार्यक्रममा जाने ग्राहक पठाउने यिनीहरुको योजना हुन्छ । प्राय यिनीहरु रमाइलो गर्न हिँडे जस्तो गर्छन् तर उद्देश्य ग्राहकै बनाउने हुन्छ ।

यस्तो प्रकारका युवतीहरु यौन व्यवसायमा लागेको छ भनेर आफ्नै मिल्ने साथीलाई पनि थाहा हुँदैन । साथीहरु पनि कमै बनाउँछन् । पोखरामा यस्ता यौनकर्मी प्राय कास्की जिल्ला बाहिरकै छन् । केही परिवारसँग बस्ने गरेको पाइन्छ । यिनीहरु अलि स्यान्डर्ड पारा देखाउँछन् तर परिवारको आर्थिक स्थिति भने कमजोर हुन्छ । राति निक्लिन सजिलो हुन्छ भनेर यिनीहरु प्राय नाइट ड्युटी गर्छन् । यिनीहरु यौन व्यवसायमा लागेका छन् भनेर परिवारलाई र छिमेकीलाई समेत केही थाहा हुँदैन । सबैसँग राम्रो व्यवहार गरेर भ्रम कायम राख्न यिनीहरु निकै सिपालु हुन्छन् । ग्राहकलाई भ्रममा हाई लेभलको हो भनेर देखाउन गेटअप गर्ने र महँगो फ्ल्याट भाडामा लिई उच्च परिवारको भने जस्तो सोअप गर्छन् । ‘यिनीहरुको होटलबाट आउने मासिक तलबभन्दा घर भाडा महँगो हुन्छ,’ एक ग्राहकले भने, ‘फेरि परिवारमा उहीबाहेक कमाउने अरु हुँदैन ।’

यिनीहरु धेरै पढेका हुँदैनन् । अलि–अलि अंग्रेजी जान्ने अनि विदेशीको नक्कल गरेर डे«सअप गर्ने गर्छन् । यिनीहरुको रोजाइ भनेको कि विदेशी या कारवाला ग्राहक हो । रेस्टुरेन्ट र बार अनि डिस्कोमा जाने विदेशीहरुलाई पहिला लक्षित गर्ने गर्छन् । विदेशी त्यो पनि गोरा छालावाला मात्र रुचाउँछन् । इन्डियन, पाकिस्तानी र बंगलादेशीहरु भने होटल गर्लको रोजाइमा पर्दैनन् ।

यिनीहरु विदेशी गोराहरुसँग प्राकृतिक, अप्राकृतिक यौनासनमा रमाउँछन् । पाएसम्म बिहे गर्ने गरी रिलेसनसिपमा बस्छन् नत्र पैसामात्रै लिन्छन् । यिनीहरुको उठबस प्राय गोरासँग या कारवाला अर्थात धनवानसँग हुन्छ । यिनीहरु प्राय नगदभन्दा पनि गर्लफ्रेन्डको रुपमा ल्याप्टप महँगो फोन, आइफोन डिमान्ड गर्छन् । केही ग्राहकले त यिनीहरुलाई आफ्नो एटिएम समेत दिन्छन् ।

५. सेलिब्रेटी गर्ल
यिनीहरु हाई प्रोफाइल भएका युवतीमध्ये पर्छन् । कुनै न कुनै पेसा, व्यवसाय र कामबाट आफ्नो पहिचान बनाउन सफल भएका केही युवती पनि यो व्यवसायमा लागेको स्रोतबताउँछ । यिनीहरुको नाम, बोली, फोटो पनि बिक्छ । यिनीहरुको नाम यौन व्यवसायीहरुको सूचीमा छ भन्ने सुन्यो भने पनि जो कोहीले जिब्रो काढ्छन् । यिनीहरुको व्यवसाय गर्ने तरिका बिल्कुल फरक छ । यिनीहरु पोखरामा आफ्नो ग्राहकलाई एक्लै भेट्दैनन् । कुनै कार्यक्रम वा सार्वजनिक समारोहमा औपचारिक रुपमा भेट भयो भने ग्राहकसँग त्यतिबेला मुस्कानले मात्र संवाद गर्छन् । यिनीहरु ग्राहकसँग प्राय काठमाडौं र विदेशमा भेट्छन् ।

धनाढय व्यक्ति, ठूला व्यवसायी, उच्च पदका सेना, प्रहरी, उच्च पदस्थ कर्मचारी र डनले मात्रै सेलिब्रेटी गर्ललाई सम्पर्कमा ल्याउन सक्ने प्रहरी अधिकारी बताउँछन् । कहिलेकाहिँ ठूलोठूलो पार्टीमा मदिराले मात्तिएका बेला ‘हाम्रो लेभलको कुनै मान्छे छैन’ भन्दै धाक लगाउने गरेको पोखराका एक व्यवसायीले बताए ।

यिनीहरु ग्राहकहरु हेरेर एक रातको १ लाख रुपैयाँभन्दा बढी लिन्छन् । ‘त्यति मात्र होइन, यिनीहरुले चाहे आफ्नो ग्राहकलाई भनेर आफन्तलाई बोल्दा बोल्दै जागिर लगाइदिन सक्छन्,’ एक व्यवसायीले सुनाए ।

यिनीहरुलाई प्रहरीले यौन व्यवसायमै लागेको भनेर पक्राउ गर्न त परै जाओस् उल्टो सुरक्षा दिनुपर्ने बाध्यता पर्ने प्रहरी अधिकारी सुनाउँछन् । ‘धनी घरको भनेर के गर्ने मान्छे हो यौन चाहना जसलाई नि हुन्छ,’ स्रोतले भन्यो, ‘यौन व्यवसायमा लाग्ने र उनीहरुलाई मोटो रकम दिएर भेट्ने धेरै सेलिबे्रटीसँग मेरो चिनजान छ ।’नाम कमाएको हुँदा यिनीहरुलाई सेलिब्रेटी गर्ल भन्ने गरिएको हो । ‘यौन व्यवसायी सेलिब्रेटी र ग्राहक दुवैलाई गोपनियताको आवश्कयता हुन्छ,’ स्रोतले भन्यो, ‘केही अन्तरिक विवाद भए पनि तै चुप मै चुप भन्दा अरु विकल्प रहन्न ।’

प्रहरीकै संरक्षणमा यौन धन्दा
अर्जुन गिरी
पोखरा, २८ फागुन
प्रहरीले बागलुङ बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्टबाट यौन व्यवसाय हटाउन सफल भएपछि त्यस क्षेत्रले रुपै फेरेको छ । यौन व्यवसाय मौलाएको अखडै नरहे पनि पोखराका अरु ठाउँमा भने यो व्यवसाय चालु रहेको गाइँगुइँ चल्दै आएको हो । त्यस्तै गाइँगुइँका बीच प्रहरीकै संरक्षणमा यौन व्यवसाय चलिरहेको आरोपसहितको अडियो फेला परेको छ।

एक यौनकर्मी युवतीले रकम खाने वडा प्रहरी कार्यालय र प्रहरीले यौन व्यवसायीबाट के–के सेवा, सुविधा पाउँछन् त्यो पनि स्पष्ट खुलाएकी छिन् । ‘वडा प्रहरी कार्यालय बैदामलाई कहिले ७५ हजार त कहिले ८० हजार नगद बुझाएका छांै,’ बगालेटोल बस्ने उनले पोखराका एक पत्रकारसँग कुराकानी गर्दै भनिन्।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि उत्तिकै रकम बुझाउँछन् यौन व्यवसायीहरू । ‘बैदाम र जिल्लाका प्रहरी आएर हैरान पार्छन्,’ उनले भनिन्, ‘कार्यालयलाई रकम बुझाउँछांै, अन्य सानो दर्जाकाले कहिलेकाहीं आएर १०–१५ हजारको मासु र रक्सी खान्छन्, अनि यौन इच्छा पूरा गर्छन्, जान्छन् ।’ कहिलेकाहिँ प्रहरीले बनेको जस्तो नभए मात्र छापा हान्ने गरेको उनले सुनाइन् । ‘भदौमा मात्र ६–७ जना केटी पक्राउ ग¥यो, त्यो बेला पनि पैसा बुझाउनु परेको थियो,’ उनले भनिन्, ‘सिभिल पुलिस र पुरानो प्रहरीले हैरान पारेका छन् ।’ कहिलेकाहिँ साहुलाई नभनी युवतीलाई दुख दिने गरेको यौनकर्मीको गुनासो छ । ‘पहिलो दिनमा फोन नम्बर माग्छन्,’ उनले भनिन्, ‘साहुलाई नभनी जान मिल्दैन, फेरि गएन भने तेरोमा रेड हान्छु भनेर धम्की दिन्छन् ।’

यौनकर्मी राखेर रेस्टुरेन्ट व्यवसाय चल्ने ठाउँ अधिकांश वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा छन् । बैदामका केही पुराना प्रहरी र सिभिल प्रहरीबाट त्यस्ता व्यवसायी मात्र नभएर अन्य रेस्टुरेन्ट सञ्चालक पनि पीडित रहेको गुनासो यसअघि पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा नपुगेको होइन तर अनुगमन र कारबाही प्रक्रियाअघि नबढेको एक प्रहरी अधिकृतले बताए । ‘बैदाममा पुराना प्रहरी छन्, उनीहरूको आन्तरिक सरुवा कहिले जिल्ला अनि फेरि बैदाम हुँदा त्यस्ता प्रहरीले बिगारेका छन्,’ ती अधिकृतले भने, ‘उनीहरू पैसा खान र माथि सेटिङ मिलाउन जान्ने भएकाले जिल्लाबाहिर सरुवा नभएको हो ।’ यसरी यौनकर्मी र केही रेस्टुरेन्ट व्यवसायीसँग रकम खान पाउने भएकाले केही प्रहरीले बैदाम छाड्न नमानेको उनले बताए । ‘जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय एक्टिभ युनिट हो,’ उनले भने, ‘यसमा बसेर मजाले रकम खान पल्केका केही पुराना प्रहरी अन्त सरुवा हुन नदिन नेतादेखि उच्च पदका प्रहरीकहाँ गुहार माग्छन् ।’

समाधानले यौन व्यवसायीले प्रहरीबारे बोलेको अडियो रेकर्ड पाएपछि केही अन्य यौन व्यवसायीसँग कुराकानी गर्दा पनि प्रहरीले रकम खाने गरेको स्वीकारे । ‘हाम्रो त जम्मा २ वटा केटीमात्र छ,’ सिर्जनाचोकका एक व्यवसायीले भने, ‘मेरोबाट प्रहरीले पैसा त लैजान्न तर कहिलेकाहिँ खान आउँछन्, र केटी पनि लिएर जान्छन्।’

२०७०÷७१ तत्कालीन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्तकुमार लामाले बागलुङ बसपार्क क्षेत्रमा दिन रात सिआरभी भ्यान खटाएपछि यौन व्यवसाय कम भएको थियो । त्यसपछि बागलुङ बसपार्कमा यो व्यवसायी नियन्त्रणमा आयो । त्यहाँका यौनकर्मी र व्यवसायीले ठाउँ परिवर्तन गर्न थाले । पछिल्लो समय बागलुङ बसपार्क, बगाले टोल, जाल्पारोड, सिर्जनाचोक, नांगढुङगा, पृथ्वीचोक क्षेत्रमा यौन व्यवसाय फस्टाएको छ।

यौन व्यवसाय नियन्त्रण गर्ने नाममा उल्टो संरक्षण गरेको पाइए तुरुन्तै कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए । ‘अझैसम्म हामीकहाँ गुनासो आएको थिएन,’ उनले भने, ‘अब हामी यसबारेमा अनुसन्धान गर्छाैं ।’

दुईपटक जबर्जस्तीपछि बदलिएको बाटो
अर्जुन गिरी
पोखरा, २८ फागुन
चैत १५ गतेको रात । पेट भोकै थियो उनको । आफैंले पकाएको खाना थियो, तर खाने मन पटक्कै भएन । घडीले रातको १२ बजेको संकेत गरिसकेको थियो । जिउमा बेसरी थकान थियो, सुत्न ओछ्यान थियो, तर आँखामा निद्रा थिएन । दुईजना आफन्त, उनकै छेउमा हाँस्दै रक्सी खाँदै थिए । आँसुले उनको ओछ्यान भिजिसकेको थियो तर आँसु रित्तिएको थिएन।

नुवाकोटकी निरुले ८ वर्षअघि आफूमाथि दोस्रो पटक भएको बलात्कारको कथा यहाँबाट सुरु गरिन् । अरु यौन व्यवसायी आफ्नो नाम नराखिदिनू भन्दै नाम परिवर्तन गर्न लगाउँछन्, उनले आफ्नो वास्तविक नाम नै राख्दा फरक नपर्ने बताइन् । हुन त उनले कुन पेशा अगांलेकी छन् भनेर उनको परिवारबाहेक गाउँमा प्राय सबैलाई थाहा रहेछ।

आफ्नो वास्तविक नाम यौन व्यवसाय सुरु गरेसँगै यसरी परिवर्तन भयो कि उनले अब व्यवसायले दिएको नाम चाहेर पनि भुल्न सक्दिनन् बरु वास्तविक नाम भुल्न तयार छिन् । जिन्दगीमा अनायसै भएका दुई घटनाले उनलाई अर्कै दुनियाँमा पु¥याइदिएको उनी सुनाउँछिन् । आफूले नचाहेको बाटोतर्फ बाध्यताले धकेलिनु परेको कथा बताइरहँदा निरुको बेलाबेलामा गला अवरुद्ध भएको थियो । ‘त्यो पहिलो रात मैले नचाहँदा नचाहँदै गलत भयो, हुन त म त्यति बुझ्ने भएकी थिइनँ,’ कालो चियाको सुर्की लगाउँदै र लामो सास फेर्दै उनले भनिन्, ‘दोस्रो पटकको घटनाले मेरो जिन्दगी ठ्याक्कै उल्टो बाटोमा मोडिदियो, सायद पहिलो घटनामै नमानेको भए दोस्रो निम्तने थिएन।’

२०६५ सालमा पढ्ने र पैसा कमाउने सपनाको डोरीले निरुलाई काठमाडौं तान्यो । घर परिवारमा खान लगाउन त्यति गाह्रो भने थिएन । कक्षा ८ मा दुईपटक फेल भएर निरास हुनु र आफन्तले सहरको सपना बुनिदिनु उनका निम्ति घातक बन्यो । फुपू नाता पर्नेका छोरा घरमा आउँदा जाँदा पस्ने गर्थे । मीठो बोल्ने कहिलेकाँही काठमाडौंबाट कोसेली पनि ल्याइदिने, त्योभन्दा नजिकको साइनो निरुको परिवारमा अरु कोही थिएनन् । तिनै दाइलाई विश्वास गरेर निरु परिवारकै अनुमतिमा काठमाडौं पुगिन् । पेसाले ट्याक्सी ड्राइभर ती दाइ काठमाडांै, बसुन्धरा बस्थे । भत्किन लागेको जस्तो घरमा एउटा सानो कोठा भाडामा लिएका रहेछन् ती दाइले । लुगाफाटो यत्रतत्र, दराज, चुलो, अनि दुई वटा खाट त्यही कोठामा अटाएका थिए । एउटा सानो फ्ल्याट भाडामा लिएको छु भनेर दाइले घरमा गफ दिएका रहेछन् । निरुले प्रश्न गर्न नपाउँदै ‘काठमाडौंमा साह्रै महँगो छ बहिनी, के गर्छेस्’ उनले सहज हुन खोजे ।

कोठा जत्रो भए पनि त्यसैमा दुखसुख बस्नुबाहेक अरु विकल्प हुने कुरै भएन । त्यही साँघुरो कोठामा दुई चार दिन बित्यो । न निरुले काम पाइन, न त दाइले काम खोजिदिए । निरु दाइका लागि खाना पकाउने अनि लुगा धुने काम गर्दै डेरामा दिनरात बितारहेकी थिइन् । काठमाडौं आएको दोस्रो हप्तामा १३ वर्षकी निरुले नसोचेको भयो । अन्य दिन जस्तै त्यो दिन पनि दाइ अबेर राति आए । निरुले ढोका खोलिन् । त्यस दिन दाइले रक्सी खाएर आएका रहेछन् । निरु खान पस्किदिन अघि बढेकी के थिइन्, दाइले हात समातेर ताने । ‘हे, न चल्नु न दाइ, उता जानू’ भन्दै हात छुटाउन खोजिन निरुले । तर उनको केही लागेन् । दाइले अंगालोमा बाँधेर सुम्सुम्याउन थाले । निरु प्रतिकार गर्दै सानो खाट (लो बेड) तिर सरिन् । दाइ लाइट अफ गरेर निरुतिर बढे । अध्यारोमा निरु अझ बढी नर्भस भइन् ।

दाइले त्यस्तो गर्ला भनेर उनले सपनामा पनि सोचेको थिइनन् । न उनले सजिलै दाइको त्यो व्यवहारलाई स्वीकार गर्न सकिन, न गुहार नै माग्न । अन्तत दाइकै जित भयो । ‘त्यस रात ममाथि ३ पटक बलात्कार भयो, ओछ्यान रगताम्य नै हुँदा पनि झम्टिन छाडेन पापीले’, उनले भावुक हुँदै थपिन्, ‘मैले आमालाई मात्र सम्झिएँ, अरु केही याद आएन ।’ दाइले नै त्यस्तो गरेपछि अरु आड, भरोसाको कुनै मान्छे थिएनन् उनको । ‘न त त्यो वेला फोन थियो घरमा कुरा गर्न,’ उनले आँसु पुछ्दै भनिन्, ‘त्यो दिनपछि प्रत्येक दिन ममाथि बलात्कार भयो ।’

उनले केही काम खोजेर दाइबाट टाढा बस्ने चाहेकी थिइन तर एक महिना बितिसक्दा पनि उनले काम पाइनन् । ‘दाइको त्यो व्यवहार बरु विस्तारै सामान्य लाग्दै गयो तर काम पाइनँ’, उनले भनिन्, ‘काठमाडौं खाल्टोमा कुनै काम पाइनँ मैले ।’

चैत्र १५ गते बिहान दाइलाई पूजाको सामान ल्याउन निरुले आग्रह गरिन् । ‘दाइ भोलि मेरो बर्थ डे हो, बेलुका आउँदा नैवेध र अगरबत्ति ल्याइदिनू भनिन् उनले । चैत्र १६ गते उनको बर्थडे रहेछ । उनी प्रत्येक वर्ष जन्मदिनमा बिहान पूजा गर्दी रहिछन् । त्यस रात पनि सधैको जस्तो अवेर ११ बजेतिर दाइ आए तर पूजा सामगी ल्याएनन् । बरु कुखुराको मासु अनि दुई बोतल रक्सी र साथमा गाउँकै एक जना साथीसँग आएका रहेछन् ।

‘निरु सन्चै छौ,’ अर्का दाईले साधे । ‘ठीकै छु’, निरुले जवाफ दिइन् । ‘तिमी कति ठूली भएकी’ अर्को संवाद । रक्सीले मातेको हुनाले निरु संवाद गर्नतर्फ लागिनन् । जे भए पनि घरतिरका दाइ, काठमाडौंमा अर्को चिनेको दाइ पाउँदा माया लाग्नु स्वभाविकै थियो । त्यसपछि निरुले मासु पकाइन् । उनीहरू रक्सी थप्दै थिए । अपशब्द प्रयोग गर्दै बोलिरहेका थिए तर निरु नसुनेजस्तै गरी खान पकाउनतिर लागिन् ।
‘खान पाक्यो, खाने होइन’ निरुले प्रश्न गरिन् । ‘पख न कति हतार हो, अहिले खाम्ला’ दाइले हकारे । ‘तँलाई थाहा छ, यसले तँलाई होटलमा काम लगाइदिन्छु भनेको छ’ दाइले भने, ‘धेरै काम गर्नु पर्दैन, खानबस्न उतै हुन्छ रे ।’ त्यति भनेपछि अब यो पिचास दाइबाट पनि मुक्ति पाइने भयो भनेर निरु मनमनै निकै खुसी भइन् । ‘तर यसले भनेको आज तैले मान्नुपर्छ’ दाइले फेरि कुरा थपे । के कुरा होला भनेर निरु सोचमा पर्न नपाउँदै दाइले भने ‘तँ आज यससँग सुत्नुपर्छ’ । निरु झस्याङ भइन् । ‘के भनेको बौलाहा’ भनेर निरुले पहिलो पटक त्यसरी दाइलाई वचन फर्काइन् । दाइ जुरुक्कै उठेर अपशब्द प्रयोग गर्दै ‘मुख फर्काउछेस्’ भन्दै निरुलाई एक झापड हाने । निरु चुप लाग्नुभन्दा अरु केही विकल्प थिएन।

१ घण्टापछि निरु ठूलो खाटमा पल्टिएकी थिइन् तर निदाएकी थिइनन् । ‘म कुरा मिलाउँछु’ भन्दै अर्का दाइलाई आश्वासन दिँदै थिए फुपूका छोरा । ‘अहिले तँ तल सुत’ भनेर ती गाउँका युवकलाई तल सुत्न आग्रह गरे।

दाइ निरुको खाटमा पुगे । लाइट निभाए । अरु दिनकै जस्तो त्यो दिन पनि नमान्दा नमान्दै निरुले आफ्नो जोवन उनलाई सुम्पिइन् । निर्वस्त्र निरु रोइरहेकी थिइन् । त्यतिकैमा फुपूका छोराले अर्का दाइलाई पनि ‘ओइ माथि आइज ’ भनेर डाके । निरु नाइ नाइ भन्दै थिइन् तर नहुने कुरा भइहाल्यो । त्यस रात निरु सुत्नै सकिनन् । शारीरिक थकान भन्दा पनि उनको मानमा निकै ठूलो चोटले पीडा दियो।

त्यसको केही दिनपछि निरुले डान्स बारमा काम गर्न थलिन् । जब थियो वेटर । गाउँबाट दुई जोडी कुर्तामा आएकी निरुले आफूलाई डान्स बारमा काम गर्न लुगामै ठूलो लगानी गर्नु परेको सुनाइन् । ‘अब कुर्ता लगाएर भएन,’ उनले विगत कोट्याइन्, ‘लुगा लगाउन त्यहीका अरु वेटर साथीले सिकाए ।’ समयको माग अनुसार विस्तारै लवाइखुवाइमा परिवर्तन आएको उनले बताइन् ।

‘विस्तारै पेशा परिवर्तन गरेर अहिले यौन व्यवसायमा लागेको ५–६ वर्ष भइसक्यो,’ उनले भनिन्, ‘काठमाडौमा धेरैले चिन्छन् । त्यही भएर पोखरा आएको पनि २ वर्ष भयो, अर्को शनिबार विराटनगर जान्छौं ।’ अब पोखरा नफर्किने उनले जानकारी दिइन् । ‘एउटै ठाउँमा बस्दा पुरानो भइन्छ, मागे जस्तो दाम नपाइने, त्यसैमाथि प्रहरीको आँखामा पनि परिन्छ,’ उनले थपिन्, ‘नौलो ठाउँमा नयाँ भइन्छ, दाम धेरै पर्छ अनि नगएर भयो त ?’ यो पेसाबाट उनले महिनामा कम्तिमा ५० हजार बचाउने गरेको सुनाइन् । ‘कुनै वेला एकै दिन ५ हजार पनि कमाइन्छ,’ उनले भनिन्, ‘कहिले १ हजारमात्र पर्न सक्छ ।’

राम्रै कमाइ भए पनि यस्तो व्यवसायमा अरु चेली नलागून भन्ने उनको चाहना छ । ‘अहिले सोच्दा लाग्छ, मेरो जीवनमा यही हुन लेखेको थियो, अरुलाई यस्तो नपरोस्’ ३ साताअघि सृजनाचोकको एक रेष्टुरेन्टमा कुराकानीको क्रममा समाधानसँग उनले भनिन्, ‘सबैभन्दा पहिला त घरबाट सपना बोकेर त्यो आफन्त भनौदाको विश्वासमा निक्लिनु नै गलत थियो ।’ शरीर बेचेरमात्र नहुने अन्य धेरै समस्या आइपर्ने उनले बताइन् । ‘कुनै गाह्रो यस्तो हुन्छ यौन चाहना पूरा गरेपछि चुरोटले पोल्दिन्छन्, केही भन्न मिलेन, केही भन्यो भने अर्काे पटक नआउँलान् भन्ने डर,’ उनले भनिन्, ‘इच्छा नहुँदा नहुँदै उनीहरूले भनेको मान्नुपर्छ, त्यहाँभन्दा ठूलो पीडा के होला जीवनमा ।’

यौन सोखिनलाई पैसा नो मतलब
अर्जुन गिरी
पोखरा, २८ फागुन

जब मान्छेले धेरै पैसा कमाउँछ, आधारभूत आवश्यकता मजाले पुग्छ अनि उसलाई यौनको भोक यसरी लाग्छ कि उ समाजले बनाएको नियमको दायरा नाघ्न पनि पछि पर्दैन । कुरा यस्ता व्यक्तिको हो, जसले पैसाकै आडमा घरमा श्रीमती हुँदाहुँदै बाहिर यौनेच्छा पूरा गर्न प्राइभेट युवती (रखेल) राख्छन्।

यो सुन्दा फिल्मी लाग्न सक्छ तर पोखरामा केही नाम चलेका व्यवसायीले यसरी नै यौन प्यास मेटाउन युवतीलाई जागिर, घर र गाडीसमेत दिएर राखेको पाइयो । पोखरामा नाम चलेका शैक्षिक क्षेत्रका एक जना व्यक्तिले पनि यसरी नै केही वर्षअघि एक युवतीलाई भाडाको फ्याटमा राखेका थिए । पछि ती व्यक्तिककी श्रीमतीले पत्तो पाएपछि युवतीसँग सम्पर्क छुटेको एक विद्यालयका प्रिन्सिपलले बताए । अहिले ती युवती पोखरामा घर बनाएर गाडी लिएर हिड्छिन् । त्यो वेला ती व्यक्तिले दिएको जग्गा बेचेर उनले अर्को ठाउँमा घर बनाएकी हुन्।

पोखराका एक जग्गा व्यवसायीले पनि यसरी नै एक स्याङ्जाकी एक युवतीलाई जागिर, जग्गा र रकम दिएर पालेको पाइयो । ती व्यक्तिले एक संस्थामा पढ्दै नपढेकी युवतीलाई राम्रो पद दिएर उनले राखेका थिए । स्रोतका अनुसार उक्त व्यवसायीले ती युवतीको नाममा नभएर संस्थाको नाम जग्गा किनिदिएका छन् । ‘युवतीकै नाममा सोझै जग्गा गरिदियो भने पछि आफूलाई छाडेर जान्छे भनेर उनले संस्थाको नाममा अड्काएर राखेका छन्,’ स्रोतले भन्यो।

युवतीलाई मात्र नभएर उनको भाइलाई समेत राम्रो व्यवस्ता गरिदिएको स्रोत बतायो । ‘सबै परिवारलाई नै पालिदिएको छ,’ स्रोतले भन्यो, ‘एक पटक ती व्यवसायीकी श्रीमतीले चाल पाएर झगडासमेत भएको थियो ।’ ती व्यवसायीले यसभन्दा अघि एक युवतीलाई त्यसैगरी राखेको स्रोतले खुलासा ग¥यो । ‘कास्कीकै एक युवतीलाई यसरी नै पहिला राखेको थियो,’ स्रोतले भन्यो, ‘पछि ती युवतीले छाडेर अन्तै विवाह गरिन् ।’ अहिलेको युवतीले चाहेर पनि ती जग्गा व्यवसायीलाई छाड्न नसक्ने स्रोत बताउँछ । ‘आफूले पनि कान्छी श्रीमतीको रुपमा विवाह गर्न सक्दैन,’ स्रोतले सुनायो, ‘अर्कोसँग विवाह हुन पनि दिन्न, विवाह ग¥यो भने दिएको सबै सम्पती फिर्ता गरी जेल हालिदिने धम्की दिएका छन्।’

नेपाली सेनाका केही उच्च पदाधिकारी र उच्च नेतासँग एक दुई वटा फोटो खिचेको भरमा उनले धेरैलाई धम्क्याएको हुनाले ती युवतीका परिवार पनि डराएको स्रोतले बतायो ।‘सके पैसाले, नत्र धम्काएर भए पनि आफ्नो काम पूरा गर्छ,’ स्रोतले भन्यो, ‘मान्छे पहिला गतिलो होइन, पछि बनेको हो, घर, परिवार र ससुराली दह्रो भएको हुनाले मनपरि गर्दै र बोल्दै हिड्छ।’

ती दुई पात्रमात्र होइन, बगरका एक व्यापारीले पनि यसरी नै युवतीलाई फ्याट भाडामा लिएर राखेका छन् । ती व्यापारीले पनि आफ्नो यौनेच्छा पूरा गर्न युवतीलाई पालेर राखेका छन् । मासिक भाडा तिरिदिने, २० हजार महिनामा पकेट खर्चबाहेक आवश्यक पर्ने सबै सामान ती व्यापारीले नै किनिदिन्छन् । ती युवती दिनभर पार्लरमा काम गर्छिन् । घर, परिवारका कोही सदस्य आए भने अर्को कोठामा लिएर जान्छिन् । ती व्यापारीले दिएको फ्याटबाहेक अर्को एउटा कोठा पनि उनले भाडामा लिएकी छन्।

ती व्यापारी प्राय दुई तीनमा युवतीलाई भेट्न आउँछन् । त्यो समयमा उनीहरू त्यही फ्ल्याटमा हुन्छन् । कोठा भने परिवार र आफन्तलाई देखाउनका लागि मात्र लिएको र त्यसको भाडा पनि त्यही व्यापारीले नै तिर्ने गरेको स्रोतले बतायो । स्रोतका अनुसार ती व्यापारीका अन्य साथीले पनि त्यसरी नै युवती पालेका छन् । ‘म पनि एक पटक तिनीहरूको गेट टुगेदर पार्टीमा गएको छु,’ स्रोतले भन्योे, ‘हेर्दा बाउछोरी जस्तो देखिन्छन्, यो पैसा र यौन अजीव चिज रहेछ।’





Comments

comments

Leave a Reply

16741