एचकेनेपाल डट कम संवाददाता –
बेल्जियममा बस्दै आएका गायक नारायण धितालले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन्। जीवन संगिनीको विछोडमा श्रीमानको पीडा अभिव्यक्त गर्ने गरि उनले बजारमा नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।
धिताल लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले हालै सार्वजनिक गरेको ‘यति बेला उनीलाई’ बोलको गीत यूटुयवमा ज्यादै रुचाइएको छ।
प्राणघातक क्यान्सरले जीवन संगिनी गुमाउँदा श्रीमानको एक्लो जीवनका संघर्षका कथा यो गीतमा समावेश गरिएको छ । बेल्जियममा नै छायांकन गरिएको सो म्युजिक भिडियोमा उनले स्वयं अभिनय गरेका छन् । बालकलाकारका रुपमा उनका छोरा शिवम धितालको अभिनय रहेको छ । सो भिडियोमा शान्ति भट्ट र सुदर्शन घिमिरेको पनि अभिनय देख्न सकिन्छ । थकित यात्रीको शब्द, गायक धितालकै संगीत र महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन दिपेश रेग्मीले गरेका हुन्।
लम्जुङ गाउँशहर ६ मा जन्मेका धिताल चितवनको पार्वतीपुरमा बसाई सरेका थिए । काठ्माडौमा सांगीतिक क्षेत्रमा क्रियाशिल रहेपनि उनी रोजगारीका शिलशिलामा बेल्जियम पुगेका थिए। झण्डै १२ वर्ष बेल्जियम बसेपनि उनले नेपाली गीतसंगीतलाई कहिल्यै बिर्सन सकेनन्।
पप गीत, लोकपप गीत तथा आधुनिक गीतमा उनी बढी रमाउँछन् । उनले ०६० सालमा पहिलो आधुनिक एल्बम धड्कन निकालेका थिए । उनको दोस्रो आधुनिक एल्बम काइट्स हो । उनले अन्य कैयन म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । बेल्जियम बस्दै आएपनि उनले वर्षेनी नेपालीलाई नयाँ नयाँ सांगीतिक कोशेली उपहार स्वरुप पस्कदै आइरहेका छन्।
सुमधुर स्वरका धनि नारायण धितालले नेपाली गीतसंगीतको क्षेत्रलाई सक्रिय भएर अगाडि लैजाने बताउँछन् । “म स्वदेशमा छैन, वैदेशिक भूमिमा संर्घषरत छु”, उनले भने, “नेपाली सांगीतिक क्षेत्रलाई कहिल्यै माया मार्न सक्दिन, म नेपाली गीतमै रमाउँछु ।” धितालले चर्चित कलाकारहरु अञ्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्साल लगायतसँग चार वर्ष गन्धर्व संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए। उनको ‘अरब जाँदै छु’ बोलको गीतलाई चितवनको सिनर्जी एफएमले वेस्ट पर्फमेन्स अवार्डले ०६१ सालमा सम्मानित गरेको थियो।