काठमाडौं हुँदै जम्पिङ्ग फ्रग पोखरामा

दिनेश आचार्य / एचकेनेपाल डट कम-
पोखरा. ११ असोज। काठमाडौंको मण्डला थिएटर नेपालको नाटक जम्पिङ्ग फ्रग पोखरामा प्रदर्शन भईरहेको छ।

काठमाण्डौंमा अत्याधिक चर्चित बनेको नाटक पछिल्लो पटक पोखरामा प्रदर्शन भएको हो। युवा निर्देशक तथा कलाकार सजन थापामगरद्धारा निर्देशित नाटकमा माक्स, पपेट र म्युजिक (मुकुण्डो, कठपुतली र संगीत) को समायोजन रहेको कलाकार तथा नाटक संयोजक प्रदिप कुमार चौधरीले जानकारी दिए।

नाटक पोखराको पोखरा सभागृहमा आईतबार १ बजे र ४ बजे गरि नाटक दुई पटक प्रदर्शन हुँदै छ। नाटकको काठमाण्डौमा ३० वटा प्रदर्शन भई हाल ३१ औं पटक प्रर्दशनीको तयारीमा रहेको समेत निर्देशक थापामगरले जानकारी दिए।

थापाका अनुसार यस नाटकमा एउटा भ्यागुताको एक ठाउँदेखि अर्को ठाउँसम्मको यात्रालाई समावेश गरिएको छ । यसरी एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा भ्यागुतालाई बिचबाटोमा पर्ने बाधा अबरोधहरुलाई नाटकमा कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको हो। संम्बादविहीन यस नाटकमा माक्स, पपेट तथा म्युजिकको सहायताद्धारा दर्शकलाई नाटक अवधिभर बाँध्ने प्रयत्न गरिएको अर्का कलाकार विजय बरालले जानकारी दिए।

भ्यागुताको प्रेम कथामा आधारित नाटकले अहिलेको युगमा मानवीय प्रेम तथा सद्भाव संकटग्रस्त अबस्थामा रहेको भन्दै भ्यागुताको माध्यमबाट मानवीय प्रेमलाई व्यंग्य गर्ने प्रयास गरिएको छ। यस नाटकमा अहिले भईरहेको जलवायु परिवर्तनका साथै पृथ्वीको बढ्दो तापमानले मानवलाई मात्र होईन सम्रग प्राणी जगतमा परेको प्रत्यक्ष अप्रत्यक्ष असर पनि नाटकको विषयबस्तुका रुपमा रहेको छ।

नाटक जम्पिङ्ग फ्रगमा कलाकारहरुः अनुपम शर्मा, मोहम्मद नाजिर हुसेन, विजय बराल, विकास जोशी, सजन थापामगर, प्रकाश गन्धर्भ, विराट बस्नेत, आदित्य कटवाल, कमल देवकोटा र उमेश तामाङ्ग गरि जम्मा दश जना कलाकारहरुले नाटकलाई रोमाञ्चक बनाउने भरपुर प्रयत्न गरेका छन्।

पक्षघात भएका ट्याटु स्पेशलिष्ट रेशम थापा मगरको सहयोगार्थ नाटक प्रदर्शन हुन लागेको हो। अहिले रेशम थामा मगरको सहयोगार्थ नाटक जम्पिङ्ग फ्रग, लघु चलचित्र कन्टेजिएस एपेरेन्स अफ डम्बरे डेनड्राइड र नेपाली कथानक चलचित्र कबड्डी प्रदर्शन गरिएको भए पनि आउँदा दिनहरुमा सम्पूर्ण पक्षघात पीडितहरुका लागि आफ्नो अभियान अगाडि बढाउने सोचमा आफूहरु रहेको आयोजक मिडिया पोर्टका कार्यक्रम संयोजक ऋगेन्द्र गिरीले जानकारी दिए।





Comments

comments

1749