सात मुलुकले सम्बन्ध तोड्दा कतारलाई झड्का, नेपालीको रोजगार गुम्ने खतरा

करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् ।

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् ।

सातवटै देशले कतारलाई उपलब्ध गराउँदै आएको हवाई मार्ग (एयर स्पेस) पनि बन्द भएको घोषणा गरेका छन् । प्रमुख तेल उत्पादक मुलुकसँग अन्य देशले सबैखाले सम्बन्ध तोडेका हुन् । युएईले आफ्ना देशमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएको छ । आफ्ना देशमा भएका कतारी नागरिकलाई स्वदेश फर्कन र कतारमा रहेकालाई आफ्नो देशमा आउन पनि ती देशले आह्वान गरेका छन् ।

अमेरिकी गठबन्धनसँग नजिक रहेका यी राष्ट्रले कतारलाई एक्ल्याएका हुन् । कूटनीतिक सम्बन्ध अन्त्यको अनपेक्षित घोषणासँगै मध्यपूर्वका शक्तिशाली अरबी राष्ट्रहरू एक–आपसमा विभाजित भएका छन् । विभाजनसँगै खाडी मुलुक र इरानबीच कायम तनाव अझ बढ्न सक्ने विश्लेषण गरिएको खबर नयाँ पत्रिकामा छ।





Comments

comments

Leave a Reply

18258