जनयुद्धको बेला देउवाको दुईपटक हत्या प्रयास भएको थियो

काठमाडौं, २४ जेठ । माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिएका छन् ।

कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो। प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताएका छन्।

आरोप/प्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिएका हुन् । ‘जाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होला’, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो । माओवादीसँग यति नजिक बनेका देउवा कुनै समय भने उनीहरूको ’कट्टर दुस्मन’ थिए । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो ।

सायद यही तिक्ततापूर्ण विगततर्फ इंगित गर्दै प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले वर्तमान गठबन्धनप्रति संसद्मा मंगलबार प्रश्नसमेत उठाएका थिए । यद्यपि, संसद्मा मन्तव्यका क्रममा देउवाले दाहाल र दाहालले देउवाको प्रशंसामा अधिकांश समय खर्चेकाले दुई नेताबीचको सहकार्य लामो समय जाने आकलन गर्नेहरूको पनि कमी थिएन। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

18283