वेश्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका कोठा भाडामा लिएर युवतीहरूलाई राखी वेश्यावृत्ति गराउँदै आएको प्रहरीले जनाएको छ । गेस्ट हाउसका सञ्चालक प्रमोद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । साथै उक्त अखडामा जाने ग्राहक झापाका मोदबहादुर कार्कीलाई पनि महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी कारबाही अघि बढाएको खबर नयाँ पत्रिकामा छ।
दुई साताअघि पक्राउ गरी उनीहरूविरुद्ध मानव वेचविखन मुद्दामा कारबाही अघि बढाइएको महाराजगन्ज वृत्तका डिएसपी गोबिन्द पुरीले बताए। उनीहरूले गोरखाका तीन किशोरीलाई जागिर लगाइदिने भन्दै उक्त गेस्ट हाउसमा राखेर जबर्जस्ती वेश्यावृत्तिमा लगाएका थिए । २० वैशाखदेखि २ जेठसम्म आफूहरूलाई वेश्यावृत्तिमा लगाइएको उनीहरूले बताएका छन् । १० जेठमा उजुरी परेपछि प्रहरीले गेस्ट हाउसमा छापा मारी चारजनालाई पक्राउ गरेको हो।