हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २६ असार। पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहुडाँडामा विशाल बुद्धको मुर्तिसहित निर्माण हुने धर्मकाया बुद्ध मण्डलाका लागि युकेबाट करिब १ करोड रुपैयाँ सहयोग संकलन भएको छ।
असार पूर्णिमा अर्थात गुरु पूर्णिमा दिन युकेस्थित बौद्ध कम्युनिटी सेन्टरको आयोजनामा धर्मकाया बुद्ध मण्डलाका संरक्षक गुरु साङपा रिम्पोछेको प्रमुख आतिथ्यता र मण्डला निर्माण समितिका अध्यक्ष रुद्रकुमारी तमु मैनाको विशेष उपस्थितिमा सम्पन्न पुजा कार्यक्रममा सहयोगदाताहरुबाट एक करोड सहयोग संकलन हुने भएको हो। अध्यक्ष मैनाले युकेबाट मण्डलाको भूमिदानका लागि पनि यस अघि नै केही सहयोग प्राप्त भएको र मण्डला निर्माणका लागि युकेमा सहयोग संकलनको शुरुवातकै कार्यक्रममा विभिन्न सहयोगदाताहरुबाट एक करोड सहयोगको घोषणा गरिएको हो।
नेपालकै गौरवको कार्यक्रम, पोखरालाई बुद्ध सर्किटसँग जोड्दै पोखरालाई धार्मिक पर्यटनको रुपमा विकास गर्न निर्माण गरिने मण्डला निर्माण सहयोग आव्हान अन्तर्गत संरक्षक साङपा रिम्पोछे र अध्यक्ष रुद्रकुमारी तमु मैना युकेमा पुग्नुभएको हो। मण्डला निर्माण सहयोगार्थ केही दिन युकेमा अभियानमा जुट्ने अध्यक्ष तमुले बताउनुभयो।
युके पुग्नु भएका रिम्पोछे र मण्डला निर्माण समितिका अध्यक्ष रुद्रकुमारी तमु मैनालाई भव्य स्वागत सम्मान गरिएको थियो।