हङकङमा धरानेहरुको बृहत जमघट

देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, धरानलाई माया गर्ने र धरानको समृद्धि विकास, उन्नति–प्रगतिमा सहकार्य गर्दै आएको हङकङवासी धरानेहरुको संस्था “धरान हङकङ मञ्च“ ले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङको मंकीहिलमा आयोजना गर्यो।

सेप्टेम्बर २८ तारिखका दिन आयोजना भएको धरानेहरुको बृहत भेलामा धरानलाई झल्काउने विविध साँस्कृतिक कार्यक्रमहरु, प्रदर्शनी, विविध खेलहरुका साथै धरान सम्झाउने खाद्य परिकारहरु समेत उपलब्ध गरिएको थियो। किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, तमू ट्यो ह्युलले साँस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए।

आयोजकको तर्फबाट धरान हङकङ मञ्चका अध्यक्ष चन्द्र सिंघक लिम्बू नानीले – कार्यक्रम बृहत्तरुपमा सफल भएकोले आफू उत्साहित भएको बताएका छन्। हङकङका विभिन्न ठाउँहरुमा कार्यरत धराने मन भएका, धरानलाई माया गर्ने सबैजसो उपस्थित भएका थिए। आयोजकहरुले ५ सय अधिक धरानेहरु भेला भएको बताएका छन्।

कार्यक्रममा धरान युथ एशोसिएसनल स्टल राखेर धरानमा रहेका बाल स्याहार केन्द्रकालागि चन्दा संकलन गरेको थियो।

मञ्चका अध्यक्ष चन्द्र सिंघक लिम्बूले अध्यक्षता गर्नु भएको औपचारिक कार्यक्रममा उपाध्यक्ष विष्णु पाख्रिनले स्वागत मन्तव्य दिनु भएको थियो। सचिव कुमार गुरुङले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए। कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा रहनु भएको थियो। संस्थापक अध्यक्ष इन्द्र वनेम, संस्थापक एवं भूपू अध्यक्ष किसन राई लगायतका व्यक्तिहरु पनि उपस्थित हुनुभएको थियो।

कार्यक्रमको दोश्रो खण्डमा राजु आङदेम्बे, साक्थिम योङ लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने संचालन देवराज राईले गरेका थिए। धरान हङकङ मञ्चको स्थापना भएपछि धरानमा घंटाघर निर्माण गर्न मञ्चले ठूलो भूमिका खेलेको थियो। हङकङमा रहेका संघसंस्थाहरुमा आफ्नो घरदेशमा आर्थिक संकलन गरी भौतिक निर्माणमा सहयोग पुर्याउने संस्थाहरुको अग्रपंक्तिमा धरान हङकङ मञ्च रहेको छ।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू





Comments

comments

1956