प्रधानन्यायाधीशमाथि छानबिन गर्न चिकित्सकको माग

काठमाडाैं, २७ पुस । डा. गोविन्द केसी पक्षधर चिकित्सकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा सोमबार पक्राउ परेका केसीको रिहाइको माग गर्दै चिकित्सकले बुधबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । चिकित्सकले डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि लगाएका आरोपको छानबिन हुनुपर्ने माग गरेका छन्। नयाँपत्रिकामा खबर छ।

बुधबार चिकित्सकले माइतीघर मण्डलामा दुई घन्टा प्रदर्शन गरेका छन् । प्रदर्शनमा चिकित्सकसँगै विभिन्न राजनीतिक दलका कार्यकर्ता र विद्यार्थीको समेत सहभागिता थियो । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. केसीका विश्वास पात्र डा. जीवन क्षेत्रीले अहिले केसीको पक्ष–विपक्षमा धारणा आउनु स्वाभाविक भएको बताए।

‘सडकबाट कसले के भन्छ त्यसको पछि लाग्नुहुँदैन,’ डा. क्षेत्रीले भने, ‘डा. केसीले प्रधानन्याधीशविरुद्ध लगाएको आरोपको सत्यतथ्य छानबिन अदालतले नै गर्नुपर्छ । सत्यतथ्यको टुंगो लगाउने काम पनि अदालतकै हो ।’ डा. क्षेत्रीले अदालतमा हुने भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँदा त्यसलाई अदालतविरुद्धको मानहानीका रूपमा बुझ्नु नहुनेमा जोड दिए।

केसीको स्वास्थ्यमा समस्या छैन
डा. केसीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् । केसीको उपचारमा संलग्न वीर अस्पतालका डा. सुरेन्द्र श्रेष्ठले उमेरका कारण डा. केसीको स्वास्थ्य सामान्य कमजोरी देखिए पनि स्वास्थ्यमा अन्य कुनै समस्या नभएको बताए । सोमबार पक्राउ परेका डा. केसीलाई मंगलबार रातभरि र बुधबार दिनभरि वीर अस्पतालको ९ नम्बर क्याबिनमा सामान्य उपचारसहित आराम गराएर राखिएको थियो । नेपाल चिकित्सक संघ र नेपाल अर्थोपेडिक संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी डा. केसीको पक्राउको विरोध गरेका छन्।





Comments

comments

Leave a Reply

21529