उम्मेदवार छान्ने जिम्मा प्रचण्डसहितका तीन नेतालाई

काठमाडौं, माघ ९ । माओवादी केन्द्रले राष्ट्रिय सभा उम्मेदवार छनोटको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेतालाई दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष प्रचण्ड र नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिएको हो । संगठन विभागका प्रमुख बादलसहित प्रदेश इन्चार्जहरू बैठकमा सहभागी भए पनि अध्यक्ष प्रचण्ड अनुपस्थित थिए।नयाँ पत्रिकामा खबर छ।

‘उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डसहित तीन नेतालाई दिइएको छ,’ प्रवक्ता पम्फा भुसालले भनिन्, ‘मंगलबार सबै उम्मेदवारको नाममा निर्णय हुनेछ ।’ वाम गठबन्धनका तर्फबाट माओवादीले १४ उम्मेदवार उठाउँदै छ । बैठकमा प्रदेश इन्चार्जहरूले आकांक्षी उम्मेदवारको नाम प्रस्तुत गरेका थिए ।

प्रदेश नम्बर १ मा महिलातर्फ एक, प्रदेश नम्बर २ मा महिलातर्फ एक, प्रदेश नम्बर ३ मा खुला र महिलातर्फ एक–एकसहित दुई सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिँदै छ । यो प्रदेशबाट नेता बादललाई उठाउने माओवादीको तयारी छ । त्यस्तै, प्रदेश नम्बर ४ बाट खुला र दलिततर्फ एक–एकसहित दुई, प्रदेश नम्बर ५ मा अपांगता भएका व्यक्ति र महिलातर्फ एक–एकसहित दुई, प्रदेश नम्बर ६ मा खुला, महिला र अल्पसंख्यकमा एक–एकसहित तीन र प्रदेश नम्बर ७ मा खुला र अल्पसंख्यकतर्फ गरी दुई सिटमा माओवादीले उम्मेदवारी दिनेछ ।





Comments

comments

Leave a Reply

21719