दाङ, १८ माघ । गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन्।
न्यायिक समितिमा आउने हरेक मुद्दा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्दा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ।
यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ । उनी भन्छिन्, ‘सवारीसाधन अभावमा कैयौं काममा पुग्न सकिएको छैन ।’ गाउँपालिकाको एउटा गाडी छ । तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन।
गाउँपालिकाका अध्यक्षले निजीसरह उपभोग गरिरहेका छन् । ‘कुनै आवश्यक कामका लागि एकछिन गाउँपालिकाको कार्यालयको गाडी माग्दा पनि पाइँदैन,’उनले भनिन्,’गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ । तर उहाँले कार्यालयको गाडी आफ्नै घरमा राख्नुहुन्छ।’
गाउँपालिकाको गाडी अध्यक्षले एक्ल प्रयोग गर्दै आएपछि अध्यक्ष र उपाध्यक्षबीच ठूलै विवाद भएको खबर नागरिक दैनिकले छापेको छ । गाडी माग्दा नदिएपछि उपाध्यक्ष शान्तीले चाबी नै खोसेको बताइन् ।
‘त्यो गाडी कार्यालयको पो हो त’, उनले भनिन्, ‘कार्यालयकै कामका लागि कतै जानुपर्दा नपाएपछि एकदिन विवाद भयो, अनि मैले चाबी खोसिदिएको हुँ।’
उनले कार्यालयकै कामकाजका लागि आफूले व्यक्तिगत खर्चमा गाडी रिजर्भ गर्नुपरेको बताइन् । ‘अलिक टाढाका वडासम्म पुग्न आफ्नै खर्चमा गाडी लिएर पुगेकी छु,’ उनले भनिन्, ‘कार्यालयको गाडी नदिएपछि के गर्नु ?’ गाडी रिजर्भ गरेबापतको खर्च माग गर्दा नपाएको उनले बताइन्।