ओलीलाई प्रधानमन्त्री हुन नदिने प्रयत्न विफल भएपछि यसरी झुक्यो भारत…

काठमाडौं : वाम गठबन्धन सरकारमा गइनसकेको र शेरबहादुर देउवा सरकारको बहिर्गमन भइनसकेको संक्रमणकालिन अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण र श‌ंकास्पदरुपमा हेरिएको छ।

नेपालले औपचारिक निम्तो नै नदिई पूर्णतया भारतीय इच्छा र चहानामा भएको यो भ्रमणले देशमा विभिन्न स‌ंशय पनि पैदा गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबीच एकताको गाँठो फुक्न नसकेको अवस्थामा भारतीय विदेश मन्त्रीको यो भ्रमणले सर्वसाधरणमा श‌ंका जन्माएको खबर अन्नपूर्णपोष्टले छापेको छ।

६ महिना लामो नाकाबन्दी लगाएसँगै नेपालले भारतसँगको व्यापारिक एकाधिकार तोड्न चीनसँग सम्बन्ध बढाएको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनसँग व्यापारिक तथा अन्य सामरिक महत्वका सम्झौता गरेसँगै भारतले नेपाल आफ्नो हातबाट फुत्केको भन्दै चिन्ता जनाइरहेको थियो ।

नेपाललाई आफ्नो हातबाट चीनलाई सुम्पिएको भन्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना पनि भयो । तर नयाँ जनादेशबाट वाम गठबन्धनको सरकार बन्न लागेको पृष्ठभूमिमा मोदीले दूतका रुपमा स्वराजलाई पठाएर नेपालाई फकाउन थालेको आँकलन कुटनीतिक क्षेत्रमा भइरहेको छ ।

विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई उत्तरी छिमेकी चीन र चीन मामिलाका विज्ञहरुले पनि नजिकबाट नियालिरहेका छन् । केही वर्षयता नेपाल मामिलामा गम्भीर चासो लिन थालेको चीनले स्वराजको भ्रमणलाई अहिलेको अवस्थामा नजरअन्दाज गरेर बस्न नसक्ने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

के भन्छन् चीन मामिलाका जानकार ?
जनमत विपरितको कसरत असम्भव भएपछि बन्न लागेको वाम गठबन्धनको सरकारसँग सम्बन्ध सुधार्न र आफुलाई पहिलो देखाउन भारतीय प्रधानमन्त्री मोदीले स्वराजलाई नेपाल पठाएको चीन मामिलाका जानकारहरु बताउँछन् । उनीहरुले निर्वाचन परिणाम आएको दुई महिनासम्म जनमत विपरित कसरत गरेर सम्भव नभएपछि सम्बन्ध सुधार्न मोदीले स्वराजलाई पठाएको बताएका छन् ।

ओलीलाई रोक्ने कसरत फेल !
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुन नदिन भारतले यी दुई महिनाबीचमा धेरै प्रत्यत्न गरेको कुटनीतिक मामिलाका जानकार बताउँछन् । ‘ओलीलाई प्रधानमन्त्रीमा रोक्न भारतले धेरै कोसिस गर्‍यो तर त्यो प्रयास सफल भएन’, चीनमामिलाका एक जानकारले भने, ‘त्यसपछि आफ्नै चासो र पहलमा ओली प्रधानमन्त्री बन्दैछन् भन्ने सन्देश दिन स्वराजलाई मोदीले पठाएका हुन् । अस्थिर राजनीतिमा खेलिरहेको भारत नेपालमा स्थिर सरकार बन्न लागेपछि आतिएको छ।’

जनमत विपरित जाँदैन भारत
नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले विदेशमन्त्री स्वराजको भ्रमणबारे प्रतिक्रिया दिँदै नेपालको जनमतविपरित भारत जानै नसक्ने चीनको विशलेषण रहेको बताए।

भारतले चाहेर पनि नेपालको जनमत विपरित जानसक्ने अवस्था नरहेको चीनको ठहर रहेको भट्टराईले बताए । ‘नेपाल चीनको नजिक जान्छ भनेर मोदी डराएका छन्, त्यही भएर नेपालको नयाँ बन्ने सरकारलाई फकाउन उनले स्वराज पठाएका हुन्’, उनले भने, ‘तर चीनलाई त्यसमा त्यति चासो छैन, पूर्वराजा वीरेन्द्रको पालादेखि चीनले भारतसँग पनि सम्बन्ध राख्नुको विकल्प नेपालसँग नरहेको सुझाव दिने गर्थ्यो ।’





Comments

comments

Leave a Reply

21859