स्वराजको भ्रमणबाट कूटनीतिक आचारसंहिता उल्लंघन

काठमाडौं : माओवादी केन्द्रका शीर्ष नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमण कूटनीति र राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन्। सरकार परिवर्तनको संघारमा यस्तो खालको भ्रमण हुनुलाई उनीहरूले अस्वाभाविक भनेका छन्।

आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले महत्वपूर्ण भनेको यो भ्रमणको माओवादीकै शीर्ष नेताहरूले भने चर्को आलोचना गरेका हुन् । माओवादी अध्यक्ष दाहालले शुक्रबार बिहान करिब ५० मिनेटको भेटपछि दुई देशको मित्रता सौहार्दपूर्ण भएको टिप्पणी गरेका थिए । उनैका पार्टीका नेताहरूले भने सरकार कामचलाउ बनेका बेला छिमेकी देशको विदेशमन्त्री बिनाएजेन्डा नेपाल आउनु सार्वभौमिकतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् ।

माओवादी उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वराजको भ्रमणलाई राजनेताहरूले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको प्रमाणका रूपमा लिएका छन् । ‘हुन त वाम गठबन्धनका नेताद्वय ओली र दाहालले राम्रो भन्नुभएकै छ । भारतीय पक्षले पनि शुक्रबार साँझ भ्रमण राम्रो भएको प्रतिक्रिया दिएकै छ । त्यसैले राम्रै भयो होला’, उनले भने, ‘तर यसले कूटनीतिक आचारसंहिता उल्लंघन भएको छ ।’

नेताहरूमा निहित राजनीतिक स्वार्थका कारण आमजनताले दुःख र ग्लानिको अनुभूति गर्नुपरेको बताए । ‘ठूला छिमेकीको उपनिवेश बन्दासमेत पुर्खाहरूले स्वतन्त्र राखेको हाम्रो देशको स्वाभिमान आज गिराइँदै छ’, उनले भने ।

माओवादी प्रवक्ता पम्फा भुसालले वाम एकता गर्ने पार्टीका नेताले बोलाएर भएको भ्रमणप्रति आफ्नो विशेष टिप्पणी नहुने बताइन् । उनले भनिन्, ‘निर्वाचनपछि छिमेकीले भ्रमण गर्नु राम्रो मानिन्छ तर राज्य नै कामचलाउ भएको अवस्थामा कूटनीति मर्यादा र राजनीतिका लागि राम्रो भएन ।’

माओवादीकै अर्का नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले सरकार कार्यवाहक भएको अवस्थामा बिनाएजेन्डा स्वराज आउनु बेठीक भएको बताए । दक्षिण छिमेकले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका बढाउन खोजेको अनुभव आफूले गरेको गुरुङको भनाइ छ । औपचारिक पोजिसन भएको व्यक्ति बिनाएजेन्डा आउनु कूटनीतिक मर्यादाविपरीत हुने उनले बताए । गुरुङले भने, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका देखाउन खोजेको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बिदाइ र वामपन्थी सत्ताको निकटतामा रहेको अवस्थामा भएको भेटघाटको अर्थ रहँदैन ।’

यो भ्रमणले कतै वाम गठबन्धनको एकतामै अप्ठ्यारो पार्ने त होइन भन्ने संकेत गरिरहेको धारणा उनले व्यक्त गरे । कार्यसूचीबिनाको भ्रमणले कुनै न कुनै प्रकारको चलखेलको पुष्टि गर्ने दाबी गुरुङको थियो। अन्नपूर्णपोष्टमा खबर छ।

फोटोः @MEAIndia





Comments

comments

Leave a Reply

21877