३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा दुई नेपाली महिला, जुलाईमा हङकङ आउने…

काठमाडौं : एसियाका ‘तीस वर्षमुनिका ३० प्रभावशाली व्यक्ति’को सूचीमा दुई नेपाली महिला परेका छन्। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी एसिया’ सूचीमा आयुषी केसी र कञ्चन अमात्य प्रभावशाली सामाजिक उद्यमीका रूपमा सूचीकृत भएका हुन्। सूचीमा नाम परेकी आयुषीले भनिन्, ‘मलाई गर्वको अनुभूति त भएकै छ, यसले आत्मविश्वास पनि बढाएको छ।’

खालीसिसी व्यवस्थापन प्रालि (खालीसिसी डट कम) की संस्थापक एवं मुख्य कार्यकारी अधिकृत आयुषीले नेपालको खालीसिसी तथा अन्य फोहोर संकलन प्रक्रियालाई ‘डिजिटल प्ल्याटफर्म’ दिने काम गरेकी छन्। खालीसिसी र पुराना कागज संकलन गर्ने व्यक्तिले समाजमा सम्मान नपाउने गरेको सन्दर्भमा यही कामले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले खुसी लागेको उनले बताइन्।

काठमाडौंमा करिब १३ हजार संख्यामा खालीसिसी तथा सुख्खा फोहोर संकलनकर्ता भए पनि उनको सञ्जालमा करिब एक सय ५० जना संकलनकर्ता आबद्ध छन्। आयुषीले उक्त काम थालेको एक वर्ष भयो। खालीसिसी र पुराना कागज संकलनका लागि कसैले खबर गरे उनले कवाडीको काम गर्ने व्यक्तिलाई सोबारे जानकारी दिने गरेकी छन्।

जानकारी दिएको व्यक्ति सम्बन्धित ठाउँमा पुगेर कवाडी सामान संकलन मात्रै गर्दैनन्, त्यसबारे तथ्यांकसमेत संकलन गर्छन्। यस्ता सामान बिक्री गरेर आएको रकमको १० प्रतिशत सोही समुदायका बालबालिकालाई छात्रवृत्ति दिनेलगायत सामाजिक कार्यमा खर्च गर्ने गरेको आयुषीले जानकारी दिइन्।

फोर्ब्सले हरेक वर्ष कला, स्वास्थ्य र विज्ञान, मनोरञ्जन, खेल र सामाजिक उद्यमशीलतालगायत १० विधामा उत्कृष्ट कार्य गरेका ३० वर्षमुनिका ३०-३० जना व्यक्तिलाई सूचीमा समावेश गर्दै आएको छ। यस वर्ष परेका दुई हजार मनोनयनबाट विश्वभरबाट छानिएका तीन सय व्यक्ति सो सूचीमा परेका छन्।

उनीहरूलाई जुलाईमा हङकङमा हुने एक सम्मेलनमा सहभागी गराइने फोर्ब्सको वेबसाइटमा उल्लेख छ। नेपाली युवाजमातको प्रतिनिधित्व गर्दै सम्मेलनमा जान पाउनु, एसियाभरबाट आउने विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वसँग जोडिन र विचार बाँड्न पाउनु ठूलो अवसर भएको आयुषीले प्रतिक्रिया दिइन्।

सूचीमा परेकी कञ्चन अमात्य ‘दिगो मत्स्य खेती अभियान’ की अभियन्ता हुन्। दुर्गम क्षेत्रका महिलालाई प्रविधि र तालिमसँगै आर्थिक स्रोेत-साधन जुटाइदिएर आफ्नै लघु उद्यम सञ्चालन गर्न सक्षम बनाउनु अमात्यको अभियानको उद्देश्य छ। अमात्य यूएन वुमनकी ‘ग्लोबल च्याम्पियन फर वुमन इकोनोमिक इम्पावरमेन्ट’ हुन्। एसियाभरका २४ राष्ट्रका युवायुवती समावेश यो सूची सन् २०१६ मा सुरु गरिएको हो। यो वर्ष सूचीमा अजरबैजान, उत्तर कोरिया र फिजीलाई पनि समेटिएको फोर्ब्सले जनाएको छ। रामकला खड्काले अन्नपूर्णमा खबर लेखेका छन्।





Comments

comments

Leave a Reply

22583