भिजिट भिसाका नाममा ठगी धन्दा

यूएई, ५ कात्तिक । बुटवलका सुवास अर्याल त्यतिबेला झस्के, जब उनलाई राम्रो काम लगाइदिने भन्दै कमिसन स्वरूप पैसा लिने दुबईका दलालले उनको फोन नै उठाउन छाडे। सुवासले दुबईमा काम गर्ने आफ्नो भिनाजुसँग सापटी मागेर राम्रो जागिर लगाइदिन भन्दै गणेश गिरीलाई २ हजार दिर्हाम्स (६४ हजार रूपैयाँ) दिएका थिए।

गिरीले न सुवासलाई काम लगाइदिए, न पैसा फिर्ता गरे। उनी शारजाहमा बस्छन्। भिजिट भिसामा यूएई आएका सोझासाझा नेपालीलाई यसरी नै झुक्याउँछन्। सुनसरी पकलीका निरजले पनि नेपाली दलाल हुँदै फारुक नाम गरेका पाकिस्तानी नागरिकलाई बरदुबईमा भेटेर ३ हजार ५ सय दिर्हाम्स कमिसन दिए। ‘मासिक २ हजार ५ सय तलबको कम्प्युटर अपरेटरको काम छ, भोलिदेखि नै काम सुरु गर्ने भन्दै दलालले पैसा माग्यो, होला भनियो’, उनले भने, ‘अहिले फोन पनि उठाउँदैन, कलब्याक पनि गर्दैन।’

सुवासलाई ठगी गर्ने गिरीलाई हामीले सम्पर्क गर्ने प्रयास गर्‍यौं। कयौं पटक फोन गर्दा पनि उठाएनन्। इमोमा काम चाहियो भनेर सम्पर्क गरेपछि बल्ल उनले उत्तर दिए। आफूसँग १०० जनालाई पुग्ने ‘जब’ भएको दाबी गर्दै ‘सर्भिस चार्ज’ लाग्ने बताए। उनका अनुसार उनी शारजाहको रोलामा बस्छन्।

भिजिट भिसामा दुबई आएर ठगिने नेपाली धेरै छन्। प्राय: नेपालीले नै नेपालीलाई ठग्ने गरेको पाइन्छ। उनीहरू हरबखत भिजिट भिसामा काम खोज्न यूएई आउने नेपालीको खोजीमा दुबई, अबुधाबी र शारजाहमा भेटिन्छन्। कतिपय नेपाली ट्राभल्सहरू पनि यस कार्यमा संलग्न भएको पाइएको छ। दुबईका एकजना ट्राभल्स व्यवसायी भन्छन्, ‘भिजिट भिसामा आउने नेपाली र उनीहरूलाई ल्याउने दलाल भेट्ने भए एयरपोर्ट जानु, भेट्नु हुनेछ।’

जानकारहरूका अनुसार दुबईमा यस्ता धेरै दलाल भेटिन्छन्, जसले भिजिट भिसामा काम खोज्न आएका नेपालीलाई प्रलोभनमा पारेर ठगी गर्छन्। उनीहरू राम्रो काम लगाइदिने भन्दै कमिसन लिन्छन् र पैसा पाएपछि फरार हुन्छन्। अन्नपूर्ण पोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

25338