तिहारअघि नै १० राजदूत नियुक्ति गरिने, क-कसको सम्भावना ?

सरकारले १० कुटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कुटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘नियुक्तिका लागि उपयुक्त उम्मेदवारको रोस्टर तयार पार्दै छौं, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी क्याबिनेटमा प्रस्ताव लैजान्छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘तिहारअघि नै नियुक्ति हुनेछ।’

हाल भारत, यूएई, मलेसिया र राष्ट्रसंघका लागि स्थायी नियोगमा राजदूत छैनन् । यूएईमा अढाई वर्षअघि धनञ्जय झाको र मलेसियामा गत माघमा निरञ्जन बस्नेतको पदावधि सकिएको थियो।

भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायायले प्रतिनिधिसभा सदस्य चुनाव लड्न अघिल्लो असोजमा राजीनामा दिएका थिए । राष्ट्रसंघका लागि राजदूत दुर्गाप्रसाद भट्टराईको पदावधि गत वर्ष साउनमै सकिएको थियो।

तत्काल नियुक्ति गर्न नसक्दा थप केही महिना काम गर्ने गरी सरकारले उनको कार्यकाल थपेको थियो । त्यस अवधिमा पनि अर्को कोही नियुक्त हुन नसकेपछि परराष्ट्रले उनलाई फिर्ता बोलाइसकेको खबर कान्तिपुर दैनिकमा छ ।

‘अब खाली राख्ने पक्षमा छैनौं,’ मन्त्री ज्ञवालीले भने, ‘आइन्दा राजदूत पद खाली हुनु ३ महिनाअघि नै नियुक्ति प्रक्रिया अगाडि बढाउने थितिको थालनी यसपालिबाटै हुँदै छ ।’ उनका अनुसार सरकारले रिक्त र छिट्टै रिक्त हुन लागेको १० वटै ठाउँमा तिहारअघि नै नियुक्ति गर्न लागेको हो । मापदण्डअनुसार आधा परराष्ट्रका अधिकारी र आधा राजनीतिक सिफारिसमा नियुक्ति हुनेछन्।

स्रोतका अनुसार न्यूयोर्कमा परराष्ट्रका सहसचिव भरतराज पौड्याल र दुबईमा कृष्णप्रसाद ढकालको नाम प्रस्तावित छ।





Comments

comments

Leave a Reply

25340