काठमाडौं, बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ।
अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
एआइजी धिरू बस्न्यात नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा मुद्दा चलाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएका हुन् ।
प्रमाण नष्ट गरेकोमा आठ प्रहरीलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा तथा निर्दोषलाई यातना दिएकोमा यीमध्ये चारलाई यातनासम्बन्धी मुद्दासमेत चलाउने निर्णय भएको छ ।
सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा चलाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।
एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी मुद्दासमेत चलाउन निर्देशन भएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार आठजना प्रहरीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाउन लागिएको कञ्चनपुर प्रहरी स्रोतले पनि पुष्टि ग-यो । उनीहरूलाई हिरासतमै राखेर मुद्दा चलाउन लागिएको छ । एआइजी बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन कञ्चनपुर पठाइएको छ ।
गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले सातजना शंकास्पद व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्दा पनि अभियुक्त फेला पार्न सकेको छैन । हाल सिआइबीका एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुरमा बसेर घटनाको अनुसन्धान गरिरहेको छ ।